पत्रकारलाई मुक्का हान्छु भनेपछि ब्रजिलका राष्ट्रपति बोल्सोनारु अप्ठ्यारोमा

९ भाद्र, एजेन्सी ।
भ्रष्टाचारसम्बन्धी एउटा काण्डमा आफ्नी पत्नी मुछिएकोबारे प्रश्न सोधेको भन्दै ब्रजिलका राष्ट्रपति बोल्सोनारुले एक पत्रकारलाई कुट्ने चेतावनी दिएपछि उनको तीव्र आलोचना भइरहेको छ।

Advertisement

ओ ग्लोबो पत्रिकाका पत्रकारलाई बोल्सोनारुले मुखमा मुक्का बर्साउन चाहेको बताएको रेकर्ड भएको थियो। भ्रष्टाचारविरुद्ध कडा हुने बताउँदै आएका बोल्सोनारुको व्यवहारको ओ ग्लोबोले निन्दा गरेको छ। राष्ट्रपतिको प्रतिक्रियाको विरोधमा ब्रजिलमा लाखौँ मानिसले सामाजिक सञ्जालमा उनलाई क्रोधित बनाउन त्यही प्रश्न सोधिरहेका छन्।

राष्ट्रपति बोल्सोनारुका जेठा छोरा फ्लाभियो बोल्सोनारु रियो द जनिरो राज्यको विधानसभाका सदस्य हुँदा फाब्रिसियो केरोस उनका सहयोगी थिए। जुन महिनामा केरोसलाई सार्वजनिक कोष हिनामिना गरेको आशङ्कामा पक्राउ गरिएको थियो। कैयौँ ब्याङ्क खातामा शृङ्खलाबद्ध रूपमा करिब सवा दुई लाख डलर राखेकोबारे उनीमाथि अनुसन्धान भइरहेको छ।

Advertisement

एउटा पत्रिकाले गरेको अनुसन्धानमा केरोसले राष्ट्रपतिकी पत्नी मिशेली बोल्सोनारुको ब्याङ्क खातामा सन् २०११ देखि सन् २०१६ को बीचमा २१ वटा चेकमार्फत् पैसा हालेका थिए। त्यतिखेर बोल्सोनारु राष्ट्रपति निर्वाचित भइसकेका थिएनन्। साथै केरोसकी श्रीमतीले पनि थप छवटा चेकमार्फत् उनको खातामा पैसा हालेको बताइएको छ।

आइतवार राजधानी ब्रजिलियास्थित एक कथिड्रलको भ्रमणमा आएका राष्ट्रपति समक्ष पत्रकारहरू पुगेका थिए। ओ ग्लोबो पत्रिकाका पत्रकारले त्यही रकमबारे प्रश्न सोधेपछि राष्ट्रपतिले कुनै जबाफ नदिने बताएको पत्रिकाले उल्लेख गरेको छ। दोस्रो पटक फेरि पत्रकारले त्यही प्रश्न सोधेपछि बोल्सोनारुले मुक्का हान्न चाहेको जबाफ दिएका थिए।

Advertisement

उपस्थित अन्य पत्रकारले त्यस्तो जबाफ धम्की हो कि होइन भनेर सोध्दा राष्ट्रपति केही बोलेनन्। ब्रजिलको सञ्चारमाध्यमहरूको सङ्गठनले बोल्सोनारुको प्रतिक्रियाको निन्दा गरेको छ।(बीबीसी)

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top