नितेश यादव
१२ भदौ, जनकपुरधाम ।
कोरोना महामारीको हट स्पोट बनेको प्रदेश २ को बारा जिल्लामा एकैदिन ५२ जना सशस्त्र प्रहरीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । एकैदिन संक्रमण पुष्टि हुने सशस्त्र प्रहरीको संख्या यो सबैभन्दा बढी हो ।
योसँगै प्रदेश २ मा सशस्त्र प्रहरीमा संक्रमण हुनेको १ सय ४२ पुगेको छ । सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी कृष्णभट्ट ब्रम्हचार्यका अनुसार संक्रमित ती प्रहरीहरु रौतहट, पर्सा लगायत प्रदेश २ का जिल्लाका सीमा क्षेत्रमा खटिएर बारा पुगेपछि संक्रमण भएको छ । अन्य जिल्लाबाट सहायताका लागि आएका टोलीलाई क्वारेन्टाइनमा राखेर स्वाब परीक्षण गर्दा उनीहरुको रिपोर्ट पोजेटिभ आएको सशस्त्र प्रहरी प्रदेश २ का प्रमुख डीआइजी कृष्णभट्ट ब्रम्हचार्यले बताए ।
संक्रमित सशस्त्र प्रहरीलाई बाराको पिलुवास्थित रिजर्भ गणको आइसोलेसनमा राखिएको छ । प्रदेशमा नागरिक सचेतनाका लागि विभिन्न अभियान, लकडाउन तथा निषेधाज्ञा कार्यन्वयनमा खटिनुपर्ने हुँदा संक्रमित हुने सशस्त्र प्रहरीको संख्या बढ्दै गएको डीआईजी ब्रम्हचार्यले बताए ।