१४ भदौ, काठमाडौँ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षणको शुल्क घटाएर अधिकतम ४४०० रुपैयाँ मात्रै लिन पाउने निर्णय गरेको छ ।
मन्त्रालयमा आइतबार मन्त्री भानुभक्त ढकालको उपस्थितिमा बसेको इन्सिडेन्ट कमाण्ड सेन्टरका पदाधिकारीसहित कोभिड–१९ रोगको रोकथाम तथा नियन्त्रण सम्बन्धमा बसेको बैठकले सो निर्णय गरेको मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिए ।
यसअघि मन्त्रालयले अनुमति प्राप्त गरेका प्रयोगशालाहरुले पीसीआर गर्दा अधिकतम ५ हजार ५ सय रुपैयाँ लिन पाउने र अनुमति नपाएका अस्पतालहरुले स्वाब संकलन गर्दा १० प्रतिशत थप सेवा शुल्क लिन पाउने व्यवस्था गरेको थियो ।
सरकारले गर्ने निःशुल्क कोरोना परीक्षणका लागि नयाँ मापदण्ड तोक्ने तयारी मन्त्रालयको छ । अब संक्रमितको निकट सम्पर्कमा आएका, लक्षण देखिएका र अग्रभागमा काम गर्नेहरुको मात्र निःशुल्क परीक्षण गर्ने तयारी भइरहेको जनाइएको छ ।