१६ भदौ, सुनसरी ।
धरान उपमहानगरपालिका–११ मा सोमबार बेलुकी मृत्यु भएका एक ६५ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको छ ।
एक सातादेखि ज्वरो, खोकीसँगै श्वासप्रश्वासमा समस्या देखिए पनि उनी घरैमा बस्दै आएका थिए । उनको कोरोनासँग मिल्दोजुल्दो लक्षणले मृत्यु भएको पाइएपछि स्वाब संकलन गरी बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको माइक्रोबायोलोजी विभागमा पीसीआर जाँच गराउँदा मंगलबार दिउँसो संक्रमण पुष्टि भएको हो ।
धरान उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख उमेश मेहताका अनुसार ती व्यक्ति प्रतिष्ठानकै ल्याबका अवकाश प्राप्त कर्मचारी हुन् । उनले भने, ‘महामारी चलेका बेला स्वास्थ्यसम्बन्धमा जानकार व्यक्ति नै कोरोनाको मिल्दो लक्षण भए पनि घरैमा सामान्य उपचार गरेर बसेका रहेछन् ।’
योसँगै धरानमा कोरोना संक्रमित व्यक्तिहरुको मृत्युको संख्या ६ पुगेको छ । धरानमा कोरोना संक्रमितको संख्या १७० छ । तीमध्ये ६० जना संक्रमण मुक्त भएका छन् ।
ती पुरुषको मृत्यु भएसँगै उनी बसेको वडा सिल गर्ने तयारी गरिएको छ ।