२२ भदौ, दोहा ।
कोरोना भाइरसका कारण कतारबाट स्वदेश फर्कन विभिन्न माध्यमबाट कतारस्थित नेपाली दूतावासमा नाम दर्ता गराएका नेपालीहरुका लागि सेप्टेम्बेर १० तारिखमा नेपाल एयरलाइन्सले उडान गर्ने भएको छ ।
दूतावासले उक्त उडानका लागि प्राथमिकतामा परेका ५८७ यात्रुहरुको नामावली पनि सार्वजनिक गरेको छ । स्वदेश फर्किने यात्रुहरुले नेपाल सरकारको निर्णय बमोजिम पीसीआर परीक्षण गरी ७२ घण्टा भित्रको कोभिड–१९ नेगेटिभ सेर्टिफिकेटको सक्कल प्रमाण साथमा राख्नु पर्ने दूतावासले जनाएको छ ।
पीसीआर परीक्षण नगरी जान चाहनेहरुको हकमा आफ्नै खर्चमा ७ दिनको होटल क्वारेन्टिनमा बस्नु पर्नेछ । पीसीआर परीक्षण गरेका र नगरेका यात्रुहरु एउटै उडानमा यात्रा गर्न नपाईने व्यवस्था रहेको जनाएको छ ।
होटल क्वारेन्टिनको खर्च टिकट काट्ने बेलामा लिने र होटललाई भुक्तानी गर्ने कार्य सम्बन्धित एयरलाईन्सले नै गर्नेछ। पीसीआर परीक्षण गर्नका लागि कतारका सरकारी स्वास्थ्य केन्द्र वा कतार सरकारबाट अनुमति प्राप्त प्राईभेट अस्पतालहरुमा सम्पर्क राख्न सकिने दूतावासले जनाएको छ ।
यसैगरी, दूतावासका अनुसार हिमालय एयरलाइन्सको दोहा–काठमाडाँै सेक्टरका लागि सेप्टेम्बर ८ र २३ तारिखका लागि उडान तय भएको जनाएको छ ।