२२ भदौ, जनकपुरधाम । धनुषाको औरही खोलामा बगेर आएको सखुवा काठको गोलिया लैजाने विषयमा प्रहरी र स्थानीबासिन्दाबीच झडप हुँदा इन्स्पेक्टरसहित ५ जना घाइते भएका छन् ।
धनुषाको बटेश्वर गाउँपालिका-५ शान्तिपुरमा आइतबार राति प्रहरी र स्थानीयबीच झडप भएको हो ।
झडपमा इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका इन्सपेक्टर दिपक रायसहित २ प्रहरी र तीनजना स्थानीय घाइते भएका हुन् ।
गाउँलेको ढुंगामुडाबाट इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दीपक राय र प्रहरी जावन रामविश्वास परित घाइते भएको प्रहरी नायव निरीक्षक एमडी मुस्तफाले जानकारी दिए ।
उनले भने, ’क्षिरेश्वरनाथ नगरपालिकाको सखुवा महेन्द्रनगरको एक क्लिनिकमा प्रहरी निरीक्षक र घाइते प्रहरी जवानको उपचार हुँदैछ, प्रहरी निरीक्षकको निधारमा ६ वटा टाका लागेको छ ।’
प्रहरीको लाठीचार्जबाट एक महिलासहति ३ जना स्थानीय घाइते भएका छन् । उनीहरुको उपचार धनुषाको रमदैयास्थित जानकी मेडिकल कलेज शिक्षण अस्पतालमा उपचार भइरहेको बताइएको छ ।
बटेश्वर गाउँपालिका र क्षिरेश्वरनाथ नगरपालिकाको बिच भएर बग्ने औरही खोलामा आइतबार दिउँसो स्थानीय मुसहर समुदायले तीन फिट मोटो सखुवा काठको गोलिया भेटाएका थिए । सोही गोलियाको विषयमा प्रहरीले जानकारी पाएपछि राति ९ बजे तिर नियन्त्रणमा लिन गएको बेला दुवैपक्षबीच झडप भएका थियोे ।
प्रहरीे उक्त काठको गोलिया कारबाहीको लागि इलाकामा लग्ने र स्थानीयले उक्त गोलिया गाउँलेको हुनुपर्ने भन्दै विवाद भएको थियो । त्यसपछि प्रहरीले ट्याक्टरमा राखेको उक्त गोलिया इलाका प्रहरी कार्यालय तर्फ बढाएपछि स्थानीयले ढुंगामुढा गरेको एक स्थानीयले बताएका छन् ।