याङ्गुन, १९ वैशाख ः हाल बंगलादेशमा रहेका म्यानमारका रोहिंग्या शरणार्र्थीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा म्यानमार र बंगलादेशलाई अन्तर्राष्ट्रिय समुदायले सहयोग गर्ने भएको छ ।
केही समय अघि यी दुई देशबीच शरणार्थी फिर्तागर्ने सम्बन्धमा सम्झौता भएको थियो । अन्तर्राष्ट्रिय समुदायले त्यस सम्झौतालाई सहयोग गर्ने भएको बताएको छ ।
अन्तर्राष्ट्रिय समुदायको उक्त सहयोग म्यानमारले स्वीकार गरेको जनाएको छ । संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषदका प्रतिनिधिहरुसँग मङ्गलबार भएको भेटवार्तापछि म्यानमाली विदेशमन्त्री आङ सान सुकीले सो सहयोगप्रति समर्थन गरेकी हुन् ।
मङ्गलबार भएको सो भेटवार्तापछि बुधबार उनकोे विदेशमन्त्रालयले एक विज्ञप्ति प्रकाशन गरी सो कुराको जानकारी दिएको हो ।
विदेशमन्त्री सुकीले ती शरणार्थीको फिर्ताको प्रक्रियामा संयुक्त राष्ट्रसंघीय एजेन्सीको सहभागिता स्वागतयोग्य हो भनिन् ।सो भेटका क्रममा उनले शरणार्थी फिर्ताको लागि संयुक्त राष्ट्रसंघको संलग्नताले ती शरणार्थीहरुलाई पनि सुरिक्षत रुपमा आफ्नो देश फर्किनका लागि सघाउ पु¥याउने धारणा राखेको प्राप्त समाचारमा जनाइएको छ ।
संयुक्त राष्ट्रसंघीय सुरक्षा परिषद्का प्रतिनिधिहरुले बंगलादेश र म्यानमारको भ्रमण गरी म्यान्माली शरणार्थीको अवस्थाको बारेमा अध्ययन गरेका थिए । उनीहरुले सहायता उपलब्ध गराउन विश्वका दाता राष्ट्र तथा संस्थाहरुलाई आग्रह पनि गरेका थिए ।
राष्ट्रसंघीय अधिकारीहरुले रोहिंग्याको अवस्थामा अभैm सुधार नआएको र उनीहरुलाई स्वदेश फर्काउने बारेमा पनि अहिले नै कुनै प्रगति नभएको निष्कर्ष पनि निकालेका छन् ।
रोहिंग्या मुसलमान समुदायका नागरिकलाई स्वदेश फर्काउन के गर्न सकिन्छ भन्ने विषयमा राष्ट्रसंघको सुरक्षा परिषदको एक प्रतिनिधिमण्डलले गएको शनिबारदेखि म्यानमार र बंगलादेशको भ्रमण गरेको थियो ।
यी दुवै देशका उच्च सरकारी अधिकारीहरुसँग पनि ती प्रतिनिधिले भेटवार्ता एवम् परामर्श समेत गरेका थिए । सोही परामर्शका क्रममा उनीहरुले म्यान्माली विदेशमन्त्री सुकीलाई सो सहयोगको आस्वासन दिएका हुन् ।
म्यानमारमा सैनिक दमनको कारण देश छोडेर भाग्न बाध्य भएका रोहिंग्याहरु हाल म्यानमारको कोक्स बजारमा मात्र करिब १० लाख जना पुगेको अनुमान गरिएको छ । यो अनुमानित तथ्यांकमात्र भएको बताइएको छ ।
करिब सात लाख रोहिंग्या मुसलमान म्यानमारको राखिन राज्यबाट गएको अगष्ट २५ देखि लगातार दुई महिनामा नै त्यहाँ पुगेका थिए । पछिल्लो समयमा पनि उनीहरु देश छोडेर भाग्ने क्रम जारी रहेको छ ।
बंगलादेशको कोक्स बजारमा रहेको शरणार्थी शिविरमा बसिरहेका शरणार्थीहरुसँग पनि उक्त प्रतिनिधिमण्डलले भेटेर उनीहरुका अप्ठेराहरु र देश छोडेर भाग्नुपर्ने कारणका बारेमा पनि परामर्श गरेको बताइएको थियो ।
केही समयअघि सार्वजनिक भएको संयुक्त राष्ट्रसंघीय मानवअधिकारवादीहरुको एक प्रतिवेदनमा म्यानमारको राखिन राज्यमा हत्या, हिंसा र बलात्कारलगायत सैनिक दमन जारी रहेको बताइएको थियो ।
सोही कारण पनि रोहिंग्या शरणार्थीहरुले आफूहरु घर फर्किन नसकेको जनाएका छन् । म्यानमार सरकारले शरणार्थीलाई घर फर्किन कुनै रोकटोक नभएको बताए पनि आफूहरुलाई सुरक्षा नभएको उनीहरुको भनाई छ ।
तर शरणार्थीहरुको यस आरोपको म्यान्माली सैनिक प्रमुखले भने अस्वीकार गरेका छन् । उनले सेनाले नै यस्तो ज्यादती गरिरहेको भनेर आइरहेका समाचारमा कुनै सत्यता नरहेको स्पष्ट गरेका थिए ।
रासस