३० भाद्र, एजेन्सी ।
अमेरिकामा तीन वटा राज्यमा सल्किइरहेको डढेलो झनै तीव्र गतिमा फैलिरहेको छ ।
अगष्टको सुरुदेखि क्यालिफोर्निया, आरेगन र वासिङ्टनमा फैलिएको डढेलोका कारण ३५ जनाको ज्यान गइसकेको छ, कयौं व्यक्ति बेपत्ता छन् । डढेलोले दुई लाख हेक्टर क्षेत्रफल ध्वस्त बनाएको छ, सयौं भौतिक संरचना जलेर खरानी भएका छन् भने लाखौं जीवजन्तु मरेका छन् ।
अझै पनि डढेलो नियन्त्रणमा आएको छैन, तीन राज्यमा ३० वटा ठूला डढेलो सक्रिय रहेकाले लाखौं व्यक्तिलाई घर छाड्न प्रशासनले उर्दी जारी गरेको छ । डढेलोका कारण अमेरिकाको जलवायुमै परिवर्तन आउन सक्ने वातावरणविद्ले चेतावनी दिएका छन्, डढेलोकै कारण केही ठाउँको तापक्रम ४८ डिग्रीभन्दा माथि पुगेको छ ।
यसैबीच डढेलो प्रभावित क्यालिफोर्निया राज्यको भ्रमणका क्रममा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले जलवायु परिवर्तनसम्बन्धी चासोलाई खारेज गर्दै चिसो हुन थाल्ने भनेर अधिकारीहरूलाई जवाफ दिएका छन्। यसअघि सोमवार डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपति पदका उम्मेदवार जो बाइडनले ट्रम्पलाई जलवायु परिवर्तनविरुद्ध उत्रिने व्यक्तिको संज्ञा दिएका छन्।
एउटा कार्यक्रममा बोल्दै उनले अर्को चार वर्ष ट्रम्प ह्वाइट हाउसमा भए अमेरिकाले थप आगलागी झेल्नुपर्ने टिप्पणी गरे। डढेलो नियन्त्रणमा प्रभावकारी काम गर्न नसकेको भन्दै राष्ट्रपति डोनाल्ड ट्रम्पको चर्को आलोचना भएको छ ।
डढेलो नियन्त्रण गर्न ट्रम्प प्रशासनले ध्यान नदिएको र ठूलो क्षति बेहोर्दा पनि अञ्जान जस्तो गरेको भन्दै ट्रम्पको आलोचना भएको हो । डढेलोप्रति ट्रम्पको बेवास्ताको असर आउँदो नोभेम्बरमा हुने चुनावमा देखिने आँकलन गरिएको बीबीसीले जनाएको छ ।