दाङ, २१ वैशाख ः घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको सिद्धरत्ननाथ नमूना माध्यामिक विद्यालयको करीब ३५ बिगाह जग्गा अतिक्रमणमा परेको छ ।
अतिक्रमित जग्गामा पक्की भवन र पक्की सडक समेत बनेका छन् । घोराही उपमहानगरपालिका–११ खैरा, चारबगियामा रहेको उक्त विद्यालयको जग्गा अतिक्रमणमा परेको वषौँ बितिसक्दा समेत ती जग्गा फिर्ता हुनसकेको छैन । कतिले जग्गा किनबेच गर्छन् तर विद्यालयलाई थाहै हुदैन ।
आफ्नै जग्गा किनबेच भइरहँदा विद्यालय प्रशासन निरह बनेकाले अतिक्रमित जग्गा फिर्ता गराउन कठिन भएको हो ।
जग्गा फिर्ता गराउन माग गर्दै जिल्ला शिक्षा कार्यालयसँगै जिल्ला प्रशासन कार्यालय पुग्दासमेत जग्गा फिर्ता हुननसकेको विद्यालयका प्रधानाध्यापक टोपबहादुर केसीले बताए ।
तत्कालीन नारायणपुर गाविस, त्रिपुर नगरपालिकाबाट सर्वदलीय बैठक गराएर जग्गा फिर्ता गराउने प्रयास भए पनि सफल नभएको बताइएको छ । विद्यालयको ८२ बिगाहा छ कठ्ठा नौ धुर जग्गामध्ये ३५ बिगाह भन्दा बढी जमिन २०३६ सालयता अतिक्रमण हुँदै आएको हो ।आफ्नै जग्गा उपभोग गर्न नपाउँदा विद्यालयका शिक्षक तथा कर्मचारीलाई तलब खुवाउन विद्यार्थीबाट सहयोग जुटाउनुपर्ने बाध्यता भएको विद्यालयले जनाएको छ ।
विद्यालयको जग्गा भाडामा लिएका कतिपयले नाफा लिने तर विगत दुई वर्षदेखि भाडा नबुझाएको विद्यालयले जनाएको छ । विद्यालयको ४० जग्गा बिगाहा जग्गा विभिन्न संस्था र व्यक्तिले भाडामा लिएका छन् ।
रासस