३ असोज, काठमाडौं ।
आज असोज ३ अर्थात् संविधान दिवस । संविधान सभाबाट निर्मित ‘नेपालको संविधान’ जारी भएको पाँच वर्ष पुगेर छैटाैँ वर्ष प्रवेश गरेको छ । वि.सं.२०७२ असोज ३ गते आजकै दिन संविधान जारी भएका थियो ।
वि.सं. २०७२ असोज ३ गते संविधान सभाको बैठकमा तत्कालीन राष्ट्रपति डा. रामवरण यादवले नेपाली जनतासमक्ष संविधान घोषणा गरेका थिए ।
सरकारले आज संविधान दिवसको अवसरमा सैनिक मञ्च टुँडिखेलमा विशेष कार्यक्रमको आयोजना गरेको छ । आज आयोजना हुने विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी , उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा, प्रतिनिधि सभाका सभामुख अग्निप्रसाद सापकोटा र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना मात्रै सहभागी हुनेछन् ।
विशेष समारोहमा बिहान ९ः५० बजे प्रधानमन्त्री ओलीले संविधान दिवसको शुभकामना सन्देशसहित देशवासीका नाममा सम्बोधन गर्नुहुने उनका पे्रस सल्लाहकार सूर्य थापाले जानकारी दिए । यसैगरी नेपाली सेनाको टुकडीले केही कार्यक्रम मात्रै प्रस्तुत गर्ने तयारी छ । यस दिनलाई राष्ट्रिय दिवसका रूपमा मनाउने परम्परा रहे पनि यसपटक कोरोना भाइरसको महामारीका कारण विशेष समारोहमा भीडभाड गरिने छैन । त्यसैले त्यहाँ मन्त्री, सांसद लगायतका विशिष्ट व्यक्तित्व पनि सहभागी नहुने जानकारी राष्ट्रपति कार्यालयबाट प्राप्त भएको छ ।