३ असोज, विराटनगर ।
विश्वभर महामारी बनेको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नेपालमा पनि बढ्दो क्रममा छ ।
संक्रमण तीव्र रुपमा फैलिरहँदा धेरै व्यक्ति सरकारले कोभिड विरुद्ध प्रभावकारी कदम चाल्न नसकेको भनेर विरोध जनाउँदै आएका छन् । यो महामारी सरकार एक्लैको प्रयासमा मात्रै नियन्त्रणमा आउन कठिन छ । तर यसको नियन्त्रणमा सघाउन सरकारको मातहतमा काम गर्ने निकाय बाहेक थोरै मात्रै गैरसरकारी व्यक्तिहरु खटिएका छन् ।
यस्तै ब्यक्ति मध्येका एक एक हुन् विराटनगरका उद्यमी दिपक ढकाल । नेपाल स्टार इँटा उद्योगका सञ्चालक ढकाल विगत डेढ महिनादेखि संक्रमितको घर तथा भिडभाड हुने सार्वजनिक स्थानहरुमा स्यानिटाईज गर्दै आइरहेका छन् । कोरोना संक्रमितहरुलाई समाजले तथा आफ्नै आफन्तले समेत बहिस्कार गर्ने गरेको उदाहरणहरु प्रशस्तै देखिन थालेपछि संक्रमण फैलिन नदिन प्रत्यक्ष रुपमा सरकार उपस्थिती नभएका स्थानहरुमा स्यानिटाइज गर्दै आएको उनले बताए ।
नेपाल स्टार इँटा उद्योगले सञ्चालन गर्दै आएको निर्मलीकरण अभियानमा पछिल्लो समय भने समाजका अन्य सहयोगी व्यक्तिहरु समेत जोडिँदै आएको उनले बताए । ढकालका अनुसार शुक्रबारसम्म विराटनगरमा मात्रै ४ सय ५१ घरको निर्मलीकरण गरि सकिएको छ ।
निर्मलीकरण अभियान अन्तर्गत विराटनगरको पूर्वाञ्चल अनाथ आश्रम, विराटेश्वर वृद्धाश्रम, एयरपोर्ट लाईन, कोशी प्रोजेक्ट, बेलबारीको ११ नम्बर वडा कार्यालय, स्वास्थ्यचौकी, डाँगीहाट चौक लगायत संक्रमितहरुको घर, स्वास्थ्यचौकी, प्रहरी चौकी, बसपार्क लगायत भिडभाड हुने विभिन्न स्थानहरुमा निर्मलीकरण गरिएको उनले बताए ।
पहिलो लक्ष्य मोरङमा संक्रमणको जोखिममा रहेका ठाउँहरुमा निर्मलीकरण गर्ने र त्यसपछि सकेजति अन्य ठाउँहरुमा आफुहरुको अभियान सञ्चालन हुने उनले बताए ।