५ आश्विन, विराटनगर।
मंगलबारदेखि देशका सबैजसो नदीमा बहाव बढ्ने सम्भावना रहेको उल्लेख गर्दै तटीय क्षेत्रमा अति उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।
सोमबार बिहान बाढी पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले नदीतटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको हो । सोमबार बिहानको मापनअनुसार कोसी, नारायणी, कर्णाली, महाकाली र यसका सहायक नदीमा बहाव सामान्य स्थिर अवस्थामा र सबैमा बहाव सतर्कता तहभन्दा तलै भए पनि मंगलबारदेखि लगातार केही दिन वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।
सोमबार कमला, वाग्मती र यसका सहायक नदीमा बहाव केही बढ्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । त्यस्तै कन्काईका केही स–साना नदीमा सोमबार राति आकस्मिक बहाव हुन सक्ने अुनमान पनि महाशाखाले गरेको छ ।
त्यस्तै प्रदेश एकको संखुवासभा, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, उदयपुर तथा वाग्मती प्रदेशको दोलखा, रामेछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, नुवाकोट र धादिङ भई बहने केही स–साना नदीमा पनि आकस्मिक बहावको सम्भावना रहेको महाशाखाको पूर्वानुमान रहेको छ ।
त्यस्तै महाशाखाले असोज ६ गते रातिबाट देशका सबै नदीमा बहाव बढ्ने र असोज ७, ८, ९, १० गते देशैभरका नदीमा बहाव उच्च हुने पूर्वानुमान गर्दै असोज ७ देखि ११ गतेसम्म सतर्कता अपनाउन अनुरोध गरेको छ ।