६ आश्विन, काभ्रे ।
कोरोना सङ्क्रमणका कारण पनौती नगरपालिका ५, चौकोटको एक महिलाको धुलिखेल अस्पतालमा सोमबार राति मृत्यु भएको छ ।
योसहित काभ्रेमा तीन महिला र दुई पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको हो । ५० वर्षीया ती महिलाको कोरोना सङ्क्रमणपछि धुलिखेल अस्पतालको भेन्टिलेटरमा उपचारका क्रममा १९ दिनपछि मृत्यु भएको कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमान्ड पोस्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. नरेन्द्र झाले बताए ।
उनका अनुसार आमाशयको क्यान्सर रोगी महिला धुलिखेलमा उपचार गर्न आउनुअघि काठमाडौं मेडिसिटी अस्पतालमा ‘केमो’ लिने गर्दै आएका थिए । हालसम्म काभ्रेको पनौती नगरपालिकाका दुई, पाँचखाल नपाका एक र धुलिखेल नपाका दुईको मृत्यु भएको हो ।
नेपालमा कोरोना भाइरसबाट पहिलोपटक काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचाररत सिन्धुपाल्चोकको २९ वर्षीया सुत्केरीको मृत्यु भएको थियो । हालसम्म काभ्रेका ४६९ मा कोरोना सङ्क्रमण देखिएको छ । पोस्टका अनुसार कुल सङक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३१२ उपचारपछि घर फर्किएका छन् ।
१५३ सक्रिय सङक्रमितमध्ये ९४ अस्पताल आइसोलेसन र ६७ को होम आइसोलेसनमा उपचाररत छन् । (रासस)