८ आश्विन, बुटवल ।
प्रादेशिक अस्पताल लुम्बिनीद्वारा सञ्चालित बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जना कोरोना संक्रमितको निधन भएको छ ।
उनीहरू पश्चिम नवलपरासी र कपिलवस्तुका हुन् । स्वास्थ्यमा समस्या भएपछि भदौ २७ गते बुटवल ल्याइएका पश्चिम नवलपरासीको रामग्राम–३ का ४९ वर्षीय पुरुषमा कोरोना पुष्टि भएसँगै कोरोना विशेष अस्पतालमा राखी उपचार भइरहेको थियो ।
असोज २ बाट भेन्टिलेटरमा राखिएका उनको बिहीबार बिहान ४ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । अस्पतालका अनुसार ती व्यक्तिलाई कलेजोसम्बन्धी समस्या थियो ।
त्यस्तै असोज १ गते अस्पताल ल्याइएका कपिलवस्तुको बुद्धभूमि–६ का ५० वर्षीय पुरुषको बिहीबार बिहान ७ बजे मृत्यु भएको डा. थापाले जानकारी दिए । उनलाई २ गतेदेखि नै भेन्टिलेटरमा राखी उपचार गरिँदै थियो । अस्पतालका अनुसार उनी मधुमेहका बिरामी थिए ।
यससँगै उक्त अस्पतालमा मृत्यु हुनेको संख्या १७ पुगेको छ । अहिले अस्पतालको आईसीयूमा १४ संक्रमित उपचाररत छन् ।