भैरहवा / पोखरा : लकडाउन अवधिमा अधिकांश साना–ठूला आयोजनाका काम रोकिए। कामदार अभावसँगै कोरोना संक्रमण त्रासले आयोजना प्रभावित भए। तर, भैरहवामा निर्माणाधीन राष्ट्रिय गौरवको आयोजना गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम भने रोकिएन। लकडाउनको सुरुआतमा समस्या आए पनि त्यसलाई सल्टाउँदै आयोजना अघि बढेपछि प्रगति देखिएको छ। यो विमानस्थलको काम अन्तिम चरणमा छ। यस आयोजनाको लकडाउन अवधिको भौतिक प्रगति साढे ४ प्रतिशत छ।
‘भौतिक संरचनाका मुख्य काम सकिएका छन्’, आयोजना प्रमुख प्रवेश अधिकारीले अन्नपूर्ण पोस्ट्सँग भने, ‘आयोजना सम्पन्न हुन अबको काम उपकरण जडान र केही फिनिसिङ मात्र हो।’ उनका अनुसार विमानस्थलको काम करिब ९३ प्रतिशत सम्पन्न भएको छ। बाँकी ७ प्रतिशतमध्ये ५ प्रतिशत उपकरण जडानको काम हो भने २ प्रतिशत फिनिसिङ।
उपकरण जडान गर्न चीनबाट ३५ जना दक्ष जनशक्ति आउन लागेका छन्। आयोजना प्रमुख अधिकारीका अनुसार यहाँ आउन उनीहरूले चीनस्थित नेपाली दूतावासमा भिसा प्रक्रिया अघि बढाएका छन्। ३५ जनामा तीनवटा एसी जडान, धावनमार्गमा लाइटिङसम्बन्धी र टर्मिनल भवनमा अन्य उपकरण जडान गर्नेहरू छन्। विद्युतीय उपकरण जडानसँगै विमानस्थल सञ्चालनमा आउनेछ। यो अवधि भनेको जम्मा ९० दिन हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले केही दिनअघि विमानस्थल निरीक्षण गरेका थिए। त्यस क्रममा मन्त्री भट्टराईले भनेका थिए, ‘कोभिड १९ को महामारीले असर नगरेको भए आयोजना सम्पन्न भएर विमान उडानको प्रक्रिया पनि सञ्चालन भइसक्ने थियो।’
कोरोना महामारीका कारण हवाई उडान नहुँदा चीनबाट दक्ष जनशक्ति आउन नसकि आयोजना सम्पन्न गर्न ढिलाइ हुन पुगेको हो। दक्ष जनशक्ति आउन नसके पनि विमानस्थलमा अन्य काम भने तीव्र रूपमा भइरहेको छ।
आयोजनाका अनुसार विमानस्थलको ३ हजार मिटर लामो धावनमार्ग तयार छ। प्रशासनिक भवन, कन्ट्रोल टावर, ट्याक्सी वे, विमान पार्किङस्थल, अन्तर्राष्ट्रिय टर्मिनल भवन, अग्निनिवारण भवन तयार छन्। धावनमार्ग, ट्याक्सी वे, विमान पार्किङ स्थलमा लाईटिङ, टर्मिनल भवन र कन्ट्रोल टावरमा विद्युतीय उपकरण जडान र अग्निनिवारण भवनमा केही ढोका लगाउन मात्र बाँकी छ। टायल्स, मार्बल्स र रंगरोगनमा सजिएर विमानस्थलको टर्मिनल, प्रशासनिक भवन, धावनमार्गलगायत आकर्षक देखिएका छन्। विमानस्थलको भौतिक संरचनाले अन्तर्राष्ट्रिय विमानस्थलको स्वरुप देखिएको छ।
यहाँ दुईवटा ठेक्कामार्फत काम भइरहेको छ, आईसीबी वान र आईसीबी टु। आईसीबी वानअन्तर्गत भौतिक संरचनाका काम हुन्। आईसीबी टुअन्तर्गत सञ्चार र मौसम पूर्वानुमानसम्बन्धी उपकरण जडानका काम पर्छन्। आईसीबी वानका काम अन्तिम चरणमा छन्। आईसीबी टुका लगभग ९८ प्रतिशत उपकरण आयोजनास्थलमा आइसकेका छन्। जडान गर्न मात्र बाँकी छ। वानअन्तर्गतका केही उपकरण सीमा बन्दका कारण आउन नसके पनि हाल उपकरण समुद्री र सडक मार्गबाट आउने क्रममा रहेको आयोजना प्रमुख अधिकारीले बताए। ‘यहाँ भौतिक संरचना सबै तयार छन्। उपकरण जडान गर्नु मुख्य काम हो’, उनले भने, ‘जनशक्ति आएको ९० दिनभित्र सबै काम सकिन्छ।’
विमानस्थलको निर्माण र सञ्चालनका लागि समानान्तर रूपमा काम भइरहेका छन्। विमानस्थल निर्माणसँगै सञ्चालनका लागि जनशक्ति व्यवस्थापन प्रक्रियासमेत अगाडि बढाइएको छ। प्रहरीतर्फ विमानस्थल प्रमुखमा एसएसपीको दरबन्दी कायम गरिएको छ। अग्निनियन्त्रणका लागि चारवटा वरुण यन्त्र (दमकल) ल्याइएको छ। ‘यता निर्माणका काम भइरहेका छन् भने उता (माथिल्लो निकायमा) विमानस्थल सञ्चालनका लागि आवश्यक काम पनि भइरहेका छन्’, आयोजना प्रमुख अधिकारीले भने।
आयोजनाको लागत ७ अर्ब ३२ करोड रुपैयाँ छ। अधिकारीका अनुसार काठमाडौंमा सुरक्षित रूपमा उडान–अवतरण भर्न नसक्ने विमान भैरहवामा सुरक्षित तवरले उडान–अवतरण गर्न सक्छन्। काठमाडौंपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थलका रूपमा निर्माण भइरहेको यस विमानस्थललाई देशको मेरुदण्डका रूपमा लिइएको छ। विमानस्थल सञ्चालनमा आएसँगै विश्वको कुना–कुनासम्म लुम्बिनीको सिधा सम्पर्क स्थापित हुने अपेक्षा सरोकारवालाको छ।
पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल धमाधम
कोरोना महामारी भए पनि पोखरा महानगरपालिका–१४ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण चालू छ। चीनसँगको रसुवागढी नाका खुल्दा आयोजनाको कामलाई थप गति दिन सहज हुने देखिएको छ। विमानस्थल निर्माणका लागि आवश्यक सामान उक्त नाकाबाट ल्याइँदै छ।
‘कन्टेनरको लाइन त लामै होला, पालो पक्कै आउँला’, विमानस्थल आयोजना प्रमुख विनश मुनकर्मीले भने। भारतको कोलकाताबाट पनि त्यसरी नै सामानको प्रतीक्षा गरिरहेको उनको भनाइ छ। दुई तिरबाट सामान आउन ढिलाइ हुनुमा कोभिड–१९, लकडाउनलगायत कारण छन्। तर, कोभिड महामारीका बीच पनि अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम भने धमाधम छ।
मुनकर्मीका अनुसार आयोजनाको काम ६४ प्रतिशत सम्पन्न भएको छ। अरू निर्माण क्षेत्र कोभिडकै कारण ठप्पजस्तै हुँदा यहाँको काम भने चालू नै रही प्रगति मात्रा बढिरहेको छ। कोभिड–१९ महामारी फैलिएपछि आयोजना र ठेकेदार कम्पनीले चिनियाँ कामदारलाई निर्माणस्थलभित्रै क्वारेन्टाइनमा राखेर काम गराएका थिए।
इन्जिनियर कृष्णप्रसाद पौडेलले भौतिक संरचना निर्माणका सबैजसो काम पूरा भएको बताए। ‘टर्मिनल भवन वरिपरि बाटाघाटा बनाउने र इन्टेरियरका काम भइरहेका छन्’, पौडेलले भने, ‘अब खास बाँकी काम भनेको उपकरण जडान हो। २५ प्रतिशत काम त त्यहीं हुन्छ।’, याे समाचार अन्नपूर्ण पाेस्टमा सलमान खान र केशवशरण लामिछानेले लेखेका छन् ।