११ आश्विन, विराटनगर ।
केही दिनदेखि निरन्तर परेको झरी आजबाट रोकिने भएको छ ।
तर आज पूर्वका एक–दुई ठाउँमा भने ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् । गएको मंगलबारदेखि देशभरि नै पानी पारेको प्रणाली कमजोर हुँदै गएकाले आज पूर्वबाहेकका ठाउँको मौसम खुल्दै बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
महाशाखाका मौसमविद् समिर श्रेष्ठका अनुसार आज प्रदेश १ का एक–दुई ठाउँमा ठूलो पानी पर्ने र अरु प्रदेशका थोरै ठाउँमा बेलुकीतिर हल्कादेखि मध्यम खालको पानी पर्ने संभावना छ । यसैबीच नेपालबाट मनसुन बाहिरिन अझै एक हप्ता लाग्ने मौसमविद्ले अनुमान गरेका छन् ।
पाकिस्तान र भारतको राजस्थानबाट नै मनसुन नबाहिरिएकाले नेपालमा अझै कम्तीमा एक हप्ता मनसुन रहिरहने मौसमविद् श्रेष्ठले जानकारी दिए । यो वर्ष लानेन्या प्रणाली चलेकाले मनसुनमा धेरै स्टेशनमा औसतभन्दा धेरै पानी परेको उनले बताए । उनका अनुसार लानेन्या प्रणाली सक्रिय हुँदा नेपालमा धेरै पानी पर्छ भने एलनिनो प्रणाली चल्दा थोरै पानी पर्छ ।
३० वर्षको सक्रिय मनसुनको अवधीका आधारमा औषतमा नेपालमा सेप्टेम्बर २३ सम्म मनसुन सक्रिय रहन्छ भन्ने तथ्यांक निकालिएको हो । तर पछिल्लो ५ वर्षको तथ्यांक अनुसार मनसुन केही साता पछिसम्म सक्रिय रहेको देखिन्छ । यसैबीच, आज दिउँसो प्रदेश नं १ का केही स्थानमा भारी वर्षा तथा प्रदेश नं. २, वागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश नं ५, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रही केही स्थानमा मेगगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागको भनाइ छ ।
काठमाडौं उपत्यकामा भने साँझ पख हल्का वर्षाको सम्भावना रहेको श्रेष्ठले जानकारी दिए । भारी वर्षाको सम्भावना रहेका क्षेत्रका नदीमा पानीको बहाव बढ्ने, पहाडी क्षेत्रमा पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।
भारी वर्षाको सम्भावना रहेको क्षेत्रमा हवाई तथा स्थलगत यातायात सेवा प्रभावित हुनसक्ने भन्दै सचेत रहन विभागले आग्रह गरेको छ ।