११ आश्विन, झापा ।
झापाको कनकाई नगरपालिका ९, घैलाडुब्बाका ४५ वर्षीय पुरुषको कोभिड–१९ (कोरोना) का कारण मृत्यु भएको छ ।
नगरप्रमुख राजेन्द्र पोखरेलका अनुसार शनिबार राति कोभिड अस्पताल विराटनगरमा उनको मृत्यु भएको हो । उनी उच्च रक्तचाप र मधुमेहका बिरामीसमेत थिए । हालसम्म कनकाई नगरपालिकाका दुईजना कोभिड सङ्क्रमितको प्रदेश १ कै अस्पतालमा उपचारका क्रममा मृत्यु भइसकेको छ ।
कनकाई घर भई विदेश र काठमाडौंमा रहेका थप दुईजनाको पनि कोरोनाकै कारण मृत्यु भएको नगरप्रमुख पोखरेलले जानकारी दिए । कोभिडबाट मृत्यु भएकाहरुका लागि कनकाई आर्यघाटमा छुट्टै चितास्थलको व्यवस्था छ । त्यहाँ रहेका पाँच चितास्थलमध्ये एउटालाई कोभिडबाट मृत्यु भएकाहरुका लागि छुट्याइएको उनले बताए ।
कोभिड सङ्क्रमणका कारण झापा जिल्लामा अहिलेसम्ममा सात जनाको मृत्यु भइसकेको छ । (रासस)