११ असोज, सुनसरी ।
सुनसरीको बराहक्षेत्र–१ कटहरे स्थित आफ्नै घरमा मृत अवस्थामा फेला परेकी १२ बर्षीया एक बालिकाको हत्या भएको पुष्टि भएको छ ।
शनिबार राती १२ बर्षीया मिना राई आफ्नै घरमा मृत अवस्थामा फेला परेकी थिईन् । छिमेकीको घरमा धामी लगाई सकेर विहानको २ बजे राती घर फर्केका परिवार ढोका खोलेर भित्र पस्दा आफ्नो छोरी मिना राईलाई मृत भेटेका थिए । घटनाको जानकारी पाउनसाथ घटनास्थलमा खटिएको प्रहरी टोलीले मृतक बालिकाको शव शंकास्पद देखिएपछि अनुसन्धान शुरु गरेको थियो ।
घटनाको अनुसन्धान गर्न संघीय प्रहरी ईकाइ कार्यालय धरानबाट कुकुरसहितको टोली र जिल्लाप्रहरी कार्यालय सुनसरीबाट प्रहरी टोली खटेको थियो । अनुशन्धानमा खटिएको प्रहरी टोलीले मिनाको हत्याभएको पुष्टि गरेसंगै लैला नामको कुकुरको सहायताले उनको हत्यामा संलग्न सोही स्थानका १५ बर्षीय बालकलाई २४ घण्टा भित्रै पक्राउ गरेको छ ।
घरमा बालिका मात्र एक्लै रहेको अवस्थामा राती १० बजे तिर १५ बर्षीय बालक चटपटे खान भनि गएको अवस्थामा उनीहरु बीच बादविबाद हुँदा ती बालकले मिनालाई सिँसाको बोत्तलले टाउँकोमा प्रहार गरी भेष्ट र रुमालले घाँटीमा कसेर उनको हत्या गरी आफु आफ्नै घरमा गएर सुतेको प्रहरी अनुशन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनले बलत्कारको प्रयास गरेको पनि खुलेको छ। मिनाले उनको हातमा टोकेको पनि भेटिएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान समेत भईरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
