११ असोज, विराटनगर ।
लकडाउन खुलेसंगै बढ्दै गएको संक्रमितको संख्याले महामारीको जोखिम अझै बढेको तथ्याङ्कले देखाएको छ । यस्तो अवस्थामा बढी भन्दा बढी पिसिआर परीक्षण गर्नु पर्ने स्वास्थ्य विज्ञले समेत सुझाव दिँदै आएका छन् । यसै परिस्थितीमा प्रदेश १ मा पनि संभावितहरुको बढी भन्दा बढी कोरोना परीक्षण हुन सकोस भनेर न्यूरो अस्पतालले आइतबार देखि अत्याधुनिक पिसिआर ल्याब संचालनमा ल्याएको छ ।
परीक्षणको संख्या बढाउनु पर्ने अवस्था रहेको बेला सरकारले न्यूरो अस्पताललाई पनि कोरोना परीक्षण गर्न अनुमति दिएसंगै न्युरोले समेत अत्याधुनिक मेसिनबाट परीक्षण सुरु गरेको हो । न्युरो हस्पिटलद्वारा संचालित कोभिड अस्पतालमा आर टि पिसिआर ल्याब संचालनमा आएको हो ।
स्वास्थ्य मन्त्रालयले आइतबार स्वीकृति दिए संगै संचालनमा आएको अस्पतालले जनाएको छ । निजि स्तरमा प्रदेश १ मै पहिलो पटक न्यूरोले आर टि पिसिआर ल्याब संचालनमा न्यूूरो अस्पतालले ल्याएको हो । पिसिआर ल्याबमा एक दिनमा १ हजार भन्दा माथि नमुनाको परीक्षण गर्न सकिने छ ।
ल्याब संचालनसँगै १ नं प्रदेशमा अब नतिजाको लागि धेरै समय कुर्नुपर्ने बाध्यताको अन्त्य हुने विश्वास लिएको अस्पतालका अपरेशनल डाइरेक्टर राजेश भट्टराईले बताए । उनले कोभिड बिरुद्धको लडाईमा कोभिड अस्पतालको संचालन पछि आर टि पिसिआर ल्याबको संचालनले अर्को कोशे ढुङ्गा पार गरेको बताए ।
न्यूरो अस्पतालले लक्षण भएका कोरोना संक्रमितको समेत निःशुल्क उपचार गर्दै आएको छ । अस्पतालले पिसिआर जाँचको लागि ल्याबमा गई स्वाबको नमुना दिन सकिने अथवा घरबाटै स्वाब संकलन गर्न (होम सेम्पलेङ) समेत सकिने व्यवस्था मिलाएको जनाएको छ ।