२० असोज, एजेन्सी।
कोरोना संक्रमण पुष्टि भएपछि तीन दिन अघि अस्पताल भर्ना भएका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प डिस्चार्ज भएका छन् । उनको उपचार अब विशेष निगरानीमा ह्वाइटहाउसमै हुने छ ।
उनी उपचारपछि स्थानीय समय अनुसार सोमबार बेलुका अस्पतालबाट डिस्चार्ज भएका हुन् । वाल्टर रिड नेशनल मिलिट्री मेडिकल सेन्टरबाट विदा हुँदै गर्दा ट्रम्पले छिट्टै राष्ट्रपति पदको चुनाव प्रचार सुरु गर्ने बताए ।
ट्रम्पको उपचारमा संलग्न चिकित्सकका अनुसार उनी पूर्णरुपमा ठीक भइसकेका छैनन् । यद्यपि उनको स्वास्थ्य सुधारोन्मुख रहेको ह्वाइट हाउसका चिकित्सक डा. सिन कोनले बताएका बीबीसीले जनाएको छ । भाइरस जिउँदो नरहेकाले उनीबाट अरुलाई कोरोना सर्ने सम्भावना नरहेको पनि उनले बताए ।
डिस्चार्ज हुनुअघि ट्वीट गर्दै ट्रम्पले भनेका छन्, ‘छिट्टै चुनाव प्रचार सुरु गर्छु, गलत समाचारले केबल गलत मत सर्भेक्षण देखाउँछ ।’
ट्विटरमा उनले आफूले कोरोना भए पनि डर नराखेको र २० वर्षअघिको भन्दा राम्रो महसुस गरेको लेखेका छन् । साथै उनले कोरोनाबाट नडराउनू भन्दै कोरोनाले हाम्रो जीवनशैलीलाई प्रभाव पार्न पनि नहुने उल्लेख गरेका छन् ।
अमेरिकी राष्ट्रपति चुनाव सुरु हुनुअघि गरिएका मत सर्भेक्षणमा ट्रम्पभन्दा उनका प्रतिस्पर्धी जो बाइडेन लोकप्रिय रहेको देखाइएको छ, जसलाई ट्रम्पले गलत बताउँदै आएका छन् ।