२० असोज, विराटनगर ।
विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तर्राष्ट्रिस्तरको बनाउने गरी तीन तहका सरकारबीच भएको समझदारीको नेकपा विराटनगर महानगर कमिटीले स्वागत गरेको छ । महानगर कमिटीले आज एक विज्ञप्ति जारी गर्दै पार्टी तथा प्रदेशवासीको माग अनुसार भएको ऐतिहासिक समझदारीप्रति खुशी ब्यक्त गरेको छ ।
कमिटीले विमानस्थलको स्तरोन्नति गर्ने प्रक्रिया आरम्भ गरेकोमा नेपाल सरकार संस्कृति पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय, प्रदेश १ सरकार र विराटनगर महानगरपालिकालाई विशेष धन्यवाद दिएको छ । साथै अब समझदारीले विमानस्थलको विस्तारलाई सुनिश्चित गर्ने विश्वास लिइएको छ ।
विज्ञप्तिमा विमानस्थलको विस्तारले यस क्षेत्रका निजी क्षेत्र समेत उत्साहित भएको भन्दै विमानस्थल निमार्ण प्रक्रिया आरम्भ हुनुले जनतालाई विकासप्रति थप आशावादी बनाएको उल्लेख गरिएको छ । नेकपा विराटनगर महानगर कमिटीका अध्यक्ष सागर थापा र सचिव हेम कार्कीद्वारा हस्ताक्षरित विज्ञप्तिमा विमानस्थलको जग्गा अधिग्रहण गर्नुपर्ने र त्यसमा हुनसक्ने नाजायज चलखेल परियोजना रोक्ने कारण बन्न सक्ने भन्दै त्यसतर्फ सचेत रहन सबैमा अपिल गरिएको छ ।