२४ आश्विन, काठमाडौं ।
जावलाखेलस्थित अल्का अस्पतालको भेन्टिलेटरमा उपचारारत ललितपुरका एकजना कोरोना भाइरसबाट संक्रमितको निधन भएको छ ।
ललितपुरको मलपोखरीका ५० वर्षे पुरुषको उपचारको क्रममा शनिबार बिहान निधन भएको अल्का अस्पतालले जनाएको छ । मधुमेह, अल्सर तथा पायल्सका बिरामी ती व्यक्ति कोरोना भाइरसको संक्रमण देखिएपछि डाक्टरकै सल्लाहमा घरमै आइसोलेशनमा बसेका थिए ।
तर स्वास्थ्य गम्भीर बनेपछि केही दिनअघि धोबीघाटस्थित मेघा अस्पतालको आइसियूमा भर्ना गरिएको थियो । डाक्टरले भेन्टिलेटरमा राख्नु पर्ने बताए पनि सरकारी तथा निजी अस्पतालमा भेन्टिलेटर खाली नहुँदा समस्या भएको थियो ।
एक दिन ढिला गरी बिहीबार बेलुका अल्का अस्पतालको भेन्टिलेटरमा सारिएको थियो । शुक्रबार बेलुकादेखि रेमडेसिभिर औषधि पनि दिन थालिएको थियो । तर उपचारकै क्रममा शनिबार बिहान निधन भएको अस्पतालले जनाएको छ।