कोभिड–१९ भाइरस ‘कुनै कुनै सतहमा २८ दिनसम्म बाँच्छ’

२६ आश्विन, एजेन्सी ।
कोभिड–१९ को भाइरस पैसा, मोबाइल फोनको स्क्रीन तथा स्टीनलेस स्टीलमा २८ दिनसम्म संक्रामक अवस्थामा रहने अनुसन्धानकर्ताले बताएका छन् ।

Advertisement

अस्ट्रेलियाको नेशनल साइन्स एजेन्सीका वैज्ञानिकले गरेको अनुसन्धानमा कोरोना भाइरस (सार्स–कोभ–२) सोचिए भन्दा अति लामो समयसम्म जीवित रहन सक्ने देखिएको हो । तर सो अनुसन्धान अँध्यारोमा गरिएको हो, तर युभी लाइट अर्थात अल्ट्राभ्वाइलेट किरणले भाइरसलाई मार्ने यसअघि नै पुष्टि भएको छ ।

केही विज्ञहरु भने स्टील, स्क्रीन वा अरु कुनै पनि माध्यममा रहेका भाइरसबाट संक्रमण फैलिने जोखिमलाई लिएर दुविधामा छन् । कोरोना भाइरस मुख्यतः संक्रमित व्यक्तिले खोक्दा, हाच्छ्यूँ गर्दा वा बोल्दा ओसिला कणहरुबाट सर्ने गर्छ । यस्तै वायुमा रहेका कणहरुका माध्यमबाट पनि भाइरसको संक्रमण भएको प्रमाण छ ।

Advertisement

यसैगरी संक्रामक भाइरस रहेको कुनै पनि चिज वा प्लास्टिक या धातुको धरातल छुँदा पनि संक्रमण फैलिन सक्ने अमेरिकाको सेन्टर फर डिजिज कन्ट्रोल (सीडीसी) ले जनाएको छ, तर यो माध्यमबाट निकै कम मात्रै संक्रमण फैलिने विश्वास गरिन्छ ।

यसअघि प्रयोगशालामा गरिएको परीक्षणमा सार्स–कोभ–२ नोट र सिसामा दुईदेखि तीन दिन तथा प्लास्टिक तथा स्टीनलेस स्टीलमा ६ दिनसम्म जीवित रहन सक्ने देखिएको थियो । तर अस्ट्रेलियन एजेन्सी सिएसआइआरओले गरेको पछिल्लो अनुसन्धानमा मोबाइलको स्क्रीनमा हुने सिसा, कागज वा प्लाष्टिकका नोटमा २८ दिनसम्म जीवित रहने देखिएको हो ।

Advertisement

यो अनुसन्धान २० डिग्री सेल्सियस तापक्रम (रुम टेम्परेचर) र अँध्यारोमा गरिएको हो । फ्लूको भाइरस तिनै चिजमा १७ दिनसम्म जीवित रहन्छन् । अनुसन्धान प्रतिवेदन भाइरोलोजी जर्नलमा प्रकाशित भएको छ । उच्च तापक्रममा सार्स–कोभ–२ कम तापक्रममा भन्दा कम समय जीवित रहने पनि अनुसन्धानमा देखिएको छ ।

४० डिग्री सेल्सियसको तापक्रम भएका केही चिजमा रहेका भाइरस २४ घण्टापछि संक्रामक नहुने देखिएको अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । चिल्लो वा चिप्लो अर्थात अति नै राम्रो धरातल भएका चिजमा भाइरस लामो समयसम्म रहने देखिएको छ ।

तर छिद्रयुक्त वा खस्रो धरातलमा (लुगा) संक्रामक भाइरस लामो समय नरहने पनि अनुसन्धान प्रतिवेदनमा उल्लेख छ । अनुसन्धानकर्ताले आफ्नो हात तथा आफूले बारम्बार छुने चिज वा धरातलहरु सफा राख्नु पर्ने बताएका छन् ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top