२७ आश्विन, विराटनगर ।
राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले राष्ट्रिय खेलकुद परिषद् (राखेप) र सरकारलाई फेसबुकमार्फत खुला पत्र लेखेका छन् ।
उनले आफ्नो र अखिल नेपाल फुटबल संघ (एन्फा) का तर्फबाट भन्दै राखेप र सरकारलाई सम्पूर्ण खेलकुद गतिविधि सुरु गर्न आग्रह गरेका छन् । उनले सबै मापदण्ड पूरा गरी प्रशिक्षण सुरु गर्न अनुरोध गरेका हुन् । “आदरणीय राष्ट्रिय खेलकुद परिषद् तथा सम्माननीय सरकारज्यूलाई सानो खुला पत्र लेख्न चाहन्छु ।
म नेपाली राष्ट्रिय टोलीका तर्फबाट कप्तान किरण चेम्जोङ आफ्नो व्याक्तिगत तर्फबाट र एन्फाको तर्फबाट सरकारलाई के सम्झाउन चाहन्छु भने फुटबल मात्रै नभएर सम्पूर्ण खेलकुद सुरु गर्न सबै मापदण्ड पूरा गरी पूर्ण रुपमा सुरु गर्न अनुरोध गर्दछु,” किरणले आफ्नो फेसबुकमा लेखेका छन्, “किन एकान दुकान गर्दै हुनुहुन्छ ?
के खेलाडी सधैं मर्नैपर्ने हो ? मर्ने हो भने तपाईंहरु सम्बन्धित निकायमा बसेको के अर्थ रह्यो र ? खेलाडी सधैं काठमाडौंको धुलोमा तपाईंहरु चैं चिलो गाडीमा ?” उनले देशको नाम खेलकुद र खेलाडीले चिनाउने गरेको विषय मन्त्रालय, राखेप र सरकार बिर्संदै गएको आरोप पनि लगाएका छन् ।
यतिका महिनासम्म खेलाडी र खेलकुद कुन दुर्दशामा छ भन्ने विषयमा सम्बन्धित निकायलाई कुनै चासो नभएको उनले लेखेका छन् । “फूटबलमा भविष्य खोज्ने भाइबैनीहरुमा कतिको असर परेको छ भने कुरा प्रस्ट देख्न सकिन्छ ।
धेरैजसो देशमा फुटबल सुरु भइसक्दा पनि हाम्रो देशमा खेलकुदको विषयमा बोलिदिने मान्छे भएन । खेलाडीका लागि मात्र होइन खेलकुदका लागि पनि बोलिदिने मान्छे भएन,” उनले लेखेका छन्, “दुःखद घडीमा बनाएको रंगशालामा फिलिमको सुटिङ, म्युजिक भिडियोका लागि प्रवेश खुला हुने ।
फूटबलका लागि खेल्न चैं किन नहुने ? फुटबलले देशका लागि त्यति ठूलो असर पार्छ र ? अबका दिनमा सम्पूर्ण खेलमैदान मा खेल सुरु गरिदिन अनुरोध गर्दछु ।”
उनले नेपाली फुटबलको लोकदोहोरी कहिलेसम्म हेरेर बस्ने भन्दै प्रश्नसमेत गरेका छन् । उनले लामो समयको घर बसाइले खेलाडीले खेल्न बिर्सन लागेको पनि बताएका छन् । उनले सरकारलाई फुटबल राजनीतिजस्तो नभएको सुझाए ।
उनले लेखेका छन्, “७ महिनादेखि बेरोजगार भएका खेलाडीको क्षतिपूर्ति कसले दिन्छ । जुन खेलाडी खेलेर नै जीविका चलाउँथ्यो ऊ त आजभोलि खेल मैदान छाडेर विदेश पो जाँदै छ त । लाज हुने कुरा होइन ? जय देश, जय नेपाली फुटबल ।”