३० असोज, काठमाडौं।
नवनियुक्त तीन मन्त्रीले सपथ ग्रहण गरेकै दिन बसेको मन्त्रिपरिषद् बैठकले करिब एक दर्जन सचिवहरुको सरुवा गरेको छ । विहीबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले सचिव सरुवाको निर्णय गरेको हो ।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ओलीले नयाँ मन्त्रीहरुलाई ढुक्कसँग काम गर्न सहयोग गर्ने बताएका थिए । बैठकमा सचिवहरुको सरुवा र नयाँ मन्त्रीहरुलाई स्वागत गरिएकाे एक मन्त्रीले जानकारी दिए । कोरोनाबारे भने कुनै छलफल नभएकाे उनले बताए ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालयमा सुरुवा गरिएको छ । खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरीद अनुगमन कार्यालयमा सरुवा भएका छन् ।
प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने उपराष्ट्रपतिको कार्यालयमा सरुवा भएका छन् भने उपराष्ट्रपति कार्यालयका सचिव खगराज बराललाई प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको छ ।
भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा उर्जा आयोगका सरुवा गरिएको छ भने सो आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई शहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ ।
काठमाडौं महानगरपालिका सचिव एकनारायण अर्याललाई संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिव बनाइएको छ । सिञ्चाई सचिव रविन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वधार मन्त्रालयमा लगिएको छ । प्रधानमन्त्री कार्यालयमा कार्यरत यादव कोइरालालाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रिपरिषद्का नयाँ सदस्यमा सहरी विकासमन्त्री कृष्णगोपाल श्रेष्ठ, अर्थमन्त्री विष्णुप्रसाद पौडेल र महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री लीलानाथ श्रेष्ठ थपिएका छन् । उनीहरुलाई विहीबार राष्ट्रपति विद्यादेवी भण्डारीले पद तथा गोपनीयताको शपथ गराएकी थिइन् ।