६ कार्तिक, एजेन्सी ।
पश्चिम युरोपेली देश स्पेनमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १० लाख नाघेको छ ।
सो क्षेत्रमा यति धेरै संख्यामा संक्रमित हुने स्पेन पहिलो देश हो । बुधबार स्पेनमा १६ हजार ९७३ जना नयाँ संक्रमित थपिए भने १५६ जनाको कोभिड–१९ का कारण ज्यान गयो ।
महामारीको पहिलो लहर लगभ नियन्त्रणमा लिएका स्पेनसहितका युरोपेली देशमा अहिले फेरि महामारीको दोस्रो लहर सुरु भएको छ ।
स्पेनमा गएको जनवरी ३१ मा पहिलो व्यक्तिमा संक्रमण पुष्टि भएको थियो । त्यसपछि अहिलेसम्म १० लाख पाँच हजार २९५ जनामा संक्रमण पुष्टि भएको छ ।
विश्वमा १० लाख भन्दा बढीमा संक्रमण पुष्टि हुने स्पेन छैटौँ देश हो । अमेरिका, भारत, ब्राजिल, रुस र अर्जेन्टिनामा यसअघि नै सो आँकडा पूरा भएको थियो ।