७ कार्तिक, विराटनगर ।
धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले कोरोना संक्रमितको उपचार शुल्क लिने निर्णय गर्नु गलत भएको प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले बताएका छन् ।
प्रतिष्ठानले कोरोना संक्रमितको पीसीआर जाँच र उपचार गर्दा दैनिक १५ हजार शुल्क र ६० हजारसम्म धरौटी राख्नुपर्ने भनी सूचना जारी गरेकोमा मुख्यमन्त्री राईले उक्त निर्णय जनआकांक्षा विपरीत भएको बताए ।
यसरी प्रदेश सरकारसँग समन्वय नै नगरी प्रतिष्ठानले आफूखुसी शुल्क निर्धारण गरेको उनको भनाइ छ । महामारीमा राज्यले निःशुल्क रूपमा नागरिकको स्वास्थ्य उपचार गर्नुपर्छ भन्ने आफ्नो मान्यता रहेकोसमेत उनले स्पष्ट पारेका छन् ।
उनले भने, ‘सर्वसाधारण नागरिकको उपचार गर्न भनेर नै कोभिड अस्पतालका लागि यसअघि १२ करोड ५० लाख दिएको हो । यसै गरी प्रदेश सरकारले अक्सिजन प्लान्टसहित २ सय बेड विस्तार गर्ने भनेर प्रतिष्ठानमा तयारी भइरहेको छ ।’
प्रदेश १ का जनतालाई कोरोनाको निःशुल्क उपचार सेवा दिन आन्तरिक छलफलमा व्यस्त रहेको उनले बताए ।
प्रतिष्ठानले कात्तिक ५ गते साँझ सार्वजनिक सूचना जारी गर्दै कोरोना संक्रमणको उपचार गर्नुपरे भर्नाअगाडि ६० हजार रुपैया धरौटी राख्नुपर्ने, त्यसपछि दैनिक १५ हजार रुपैयाँसम्म उपचार खर्च तिर्नुपर्ने जनाएको छ ।