ओली र प्रचण्डलाई कँडेलको पत्र : नेकपा यस्तै संस्कार र संस्कृतिकाे पक्षमा छ ?

ओली र प्रचण्डलाई कँडेलको पत्र : नेकपा यस्तै संस्कार र संस्कृतिकाे पक्षमा छ ?

१७ कात्तिक, काठमाडौं ।

कर्णाली प्रदेशमा मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव ल्याउन नेतृत्व गर्ने प्रदेश सांसद यामलाल कँडेलले कर्णाली प्रदेशमा देखिएका समस्याबारे अध्यक्षद्वयको धारणा माग गरेका छन् ।

पार्टीको प्रदेश सहइन्चार्जसमेत रहेका कँडेलले सोमबार नेकपा अध्यक्षद्व केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डलाई पत्र लेखी पाँचबुँदे ध्यानाकर्षण गराएका हुन्।

कँडेलले गत असोज २७ गते पार्टी केन्द्रीय कार्यालयमा उपस्थित हुने व्यवहाराको दुवै अध्यक्षले हस्ताक्षर गरेर निर्देशन दिएको पत्रका सन्दर्भमा हालसम्म के प्रगति भयो भन्दै जवाफ मागेका छन्।

यस्तै दोस्रो बुँदामा दलको विधान बमोजिम गत असोज २७ गते प्रमुख सचेतक गुलावजंग शाहले बोलाएको बैठकमा उपस्थित भएर प्रदेशसभा सदस्यको विश्वास जित्ने प्रयास गर्नुको सट्टा अनाधिकृत रुपले प्रमुख सचेतक हटाएको विषयमा दुवै अध्यक्षको धारणा माग गरिएको छ।

यस्तै तेस्रो बुँदामा दलभित्र अविश्वासको प्रस्तावको विषयमा वैधानिक ढंगले छलफल गरेर टुंगो लगाउनुको सट्टा पद प्रतिष्ठा खुलेआम वितरण गरिएको विषय सार्वजनिक भएका छन्। नेकपा यस्तै खालको संस्कार र संस्कृतिको पक्षमा उभिएको हो भन्दै कँडेलले प्रश्न गरेका छन्।

यस्तै चौँथो बुँदामा अविश्वास प्रस्ताव ल्याउनेलाई नेतृत्व तहबाटै हतोत्साहित गर्ने काम भएको भन्दै व्यक्तिको निष्ठा र इमानमा जनस्तरबाट प्रश्न उठाउने परिस्थितिको निर्माण गरिएको भनिएको छ।

केन्द्रीय नेतृत्व तहबाटै भएको यस्तो क्रियाकलाप र गतिविधिले एकताबद्ध पार्टी निर्माण गर्न सम्भव नभएको भन्दै प्रश्न उठाएको छ। यस्तै अन्तिम बुँदामा समस्या समाधान नहुँदै एक पक्षले गत कात्तिक ७ गते दलको बैठक आयोजना गर्ने अध्यक्षद्वयको् निर्देशन विपरीत गरिएको बैठकको नियमसंगत हो/होइन भन्दै नेतृत्वलाई प्रश्न सोधिएको छ।

असोज २५ गते नेकपाको कर्णाली प्रदेशसभाका सांसदमध्ये १८ जनाले मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध प्रमुख सचेतक गुलाबजंग शाहलाई अविश्वास प्रस्ताव बुझाएका थिए ।

हेर्नुहोस् पत्र

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.