पुलिस भर्ना प्रक्रियामा राजदूतावासको कुनै संलग्नता छैनः कतार राजदूतावास

पुलिस भर्ना प्रक्रियामा राजदूतावासको कुनै संलग्नता छैनः कतार राजदूतावास

१० मंसिर, काठमाडौं । कतार पुलिसको भर्ना प्रक्रियामा संलग्न नरहेको नेपालस्थित कतारको राजदूतावासले जनाएको छ । कतार दूतावासले विज्ञप्ति जारी गरी कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता नरहेको स्पष्ट पारेको हो ।

विज्ञप्तिमा लेखिएको छ, ‘नेपालबाट कतारमा आवश्यक पुलिसमा भर्ती गराउन डिमाण्ड गर्ने केही म्यानपावर कम्पनीले कस्तो तालिम उपलब्ध गराइरहेका छन्, ती म्यानपावर कम्पनीमा कस्ताकस्ता प्रविधि उपलब्ध छन् र कतार पुलिसका लागि साँच्चिकै फिजिकल्ली र मेन्टल्ली फिट हुन सक्छन् सक्दैनन् भनेर म्यानपावर कम्पनीको सामान्य चेकजाँचको लागि आएको कतारी नागरिकको टोलीलाई राज्यको जिम्मेवार निकाय राजदूतावासले सवारी साधन उपलब्ध मात्र गराएको हो, कतार पुलिसको कुनै पनि छनौट प्रक्रियामा राजदूतावासको कुनै किसिमको संलग्नता छैन ।’

कतारको पुलिसमा भर्ना हुन इच्छुक नेपालीहरुको अन्तवार्ता लिने काम भइरहेको सूचनाको आधारमा मंगलबार बिहान वैदेशिक रोजगार विभागको टोलीले होप इन्टरनेशनल, डीडी ह्युमन रिसोर्स र एसओएस म्यानपावर कम्पनीमा छापा मारेको थियो ।

लाजिम्पाटस्थित होप इन्टरनेशनल म्यानपावर कम्पनी परिसरमा ४५–सीडी–००९ नम्बरको विदेशी कूटनीतिक नियोगको गाडी फेला परेको थियो । विभागका अनुसार सो गाडी कतारको नेपालस्थित दूतावासको हो ।

नियमअनुसार म्यानपावर कम्पनीले श्रमिकको मागपत्र विदेशस्थित दूतावासबाट प्रमाणीकरण गराएर वैदेशिक रोजगार विभागबाट पूर्वश्रमस्वीकृति लिनुपर्छ । र, तय भएको अन्तरवार्ताको मिति विभागलाई जानकारी गराउनुपर्छ ।

अन्तरवार्ताबाट छनोट भएका कामदारको अन्तिम श्रम स्वीकृति विभागबाट जारी हुन्छ । तर, अहिले काठमाडौंमा विभिन्न म्यानपावरले ठगी गर्ने गरी पूर्वस्वीकृति नभएको श्रमिकको मागपत्रमा आधारित भएर अन्तरवार्ता चलाइरहेको पुष्टि भएको छ ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.