तत्कालीन अख्तियार आयुक्त पाठकलाई ७० लाख घुस दिने न्यौपाने पक्राउ

१० मंसिर, काठमाडौं । नेपाल इन्जिनियरिङ कलेज, चाँगुनारायणका पूर्वकार्यकारी अध्यक्ष लम्बोदरकुमार न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ ।

Advertisement

तत्कालीन अख्तियार दुरूपयोग अनुसन्धान आयोगका आयुक्त राजनारायण पाठकलाई ७० लाख रुपैयाँ घुस दिएको प्रकरणमा मुछिएका न्यौपानेलाई प्रहरीले ठगी मुद्दामा पक्राउ गरेको हो । न्यौपाने रामेछाप मन्थली नगरपालिका-८ का हुन्। उनी काठमाडौं-४ चण्डोल बसोबास गर्दै आएका थिए।

उनलाई बुधबार चण्डोलस्थित निवासबाटै पक्राउ गरिएको केन्द्रीय अनुसन्धान ब्युरोका प्रमुख प्रहरी नायब महानिरीक्षक सहकुलबहादुर थापाले जानकारी दिए।

Advertisement

न्यौपानेविरूद्ध कात्तिक २४ गते ब्युरोले जिल्ला अदालत काठमाडौंमा ठगी मुद्दा दायर गरेको छ। यसमा उनीसहित पाँच जनालाई प्रतिवादी बनाइएको छ।

उनीसहित पाँच जनाले इन्जिनियरिङ कलेजमा दुई कार्यकालसम्म काम गर्दा ८ करोड २१ लाख ५३ हजार ६५० रुपैयाँ ठगी गरेको मुद्दामा ब्युरोले अनुसन्धान गरिरहेको छ।

Advertisement

यस्तै, न्यौपानेविरूद्ध बेरुजुसहितको बिगो २३ करोड १० लाख २३ हजार ४४३ रुपैयाँ माग गरिएको छ। भट्टराईको नाममा मात्र रहेको बिगो भने ३ करोड ७१ लाख ५३ हजार ६५० रुपैयाँ मागिएको ब्युरोले जनाएको छ।

उक्त मुद्दामा ललितपुर महानगरपालिका-९ का सूर्यबहादुर केसी, वडा नम्बर ४ जावलाखेलका रामरत्न उपाध्याय, काठमाडौं-४ विशालनगरका उपेन्द्र गौतम र बालुवाटारका लवराज भट्टराई प्रतिवादी छन् ।

भट्टराई पाठकलाई ७० लाख घुस दिएको बिगोमा पक्राउ परेका थिए। अख्तियारले ७८ लाख रुपैयाँ धरौटी लिएर छोडेको थियो । उक्त घुस प्रकरणपछि आयुक्त पाठकले राजीनामा दिएका थिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top