प्रमुखसहित कर्मचारी नहुँदा मालपोत कार्यालयको कामकाज प्रभावित

१६ मंसिर ७७, मंगलबार

१६ मंसिर, सिरहा ।
कार्यालय प्रमुखसहित दरबन्दीअनुसारको कर्मचारी नहुँदा मालपोत कार्यालय लहानको कामकाज प्रभावित भएको छ । प्रमुख मालपोत अधिकृत, मालपोत अधिकृतसहितका कर्मचारी नहुँदा कार्यालयको आर्थिक प्रशासनिक तथा मुद्दासम्बन्धी महत्वपूर्ण काम प्रभावित हुँदै आएको छ ।

Advertisement

यसका साथै कार्यालयबाट सेवाग्राहीलाई प्रदान गरिने सेवा प्रवाहमा समेत कठिनाइ भइरहेको मालपोत कार्यालय लहानका निमित्त प्रमुख दीपेन्द्रनारायण चौधरीले जानकारी दिए । कार्यालय प्रमुख नहुँदा मुद्दा फाँटबाट सम्पादन हुने कार्य अवरुद्ध हुनुका साथै आर्थिक, प्रशासनिक कार्यसमेत प्रभावित हुँदै आएको निमित्त प्रमुख चौधरीले बताए।

सो कार्यालयमा एक प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, १० नायबसुब्बा, चार खरिदार, एक लेखापालसहित २७ जनाको दरबन्दी रहे पनि विगत चार वर्षदेखि प्रमुख मालपोत अधिकृत, दुई मालपोत अधिकृत, चार नायबसुब्बा तथा दुई जना खरिदार रिक्त छन् ।

Advertisement

हाल सो कार्यालयमा छ नायबसुब्बा, दुई खरिदार, करारमा रहेका तीन कम्प्युटर अपरेटर र कार्यालय सहयोगीले सेवाग्राहीलाई सेवा पुर्याउँदै आएका छन् । “कार्यालयमा दैनिक सेवाग्राहीको चाप बढ्दै गएको छ”, निमित्त प्रमुख चौधरीले भने, “एकातिर कर्मचारीको अभाव छ अर्कोतिर सेवाग्राहीको चाप बढ्दो छ, यस्तो अवस्थामा सेवा पुर्याउन असाध्यै कठिनाइ भइरहेको छ ।”

कार्यालयमा वर्षौँदेखि रिक्त रहेका कर्मचारीबारे प्रमुख जिल्ला अधिकारी तथा विभागमा जानकारी गराइसके पनि कर्मचारी पठाइदिने आश्वासन मात्र पाएको उनको भनाइ छ । (रासस)

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top