अमेरिकी राष्ट्रपतीय चुनावमा धाँधली भएको भेटिएन

१८ मंसिर ७७, बिहीबार
Share this
792shares

१८ मंसिर, एजेन्सी ।
अमेरिकाका महान्यायाधिवक्ता विलियम बारले नोभेम्बर ३ मा भएको राष्ट्रपतीय चुनावमा धाँधली भएको विषयमा कुनै प्रमाण नभेटिएको बताएका छन् ।

Advertisement

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पनिकट ठानिएका महान्यायाधिवक्ता बारको उक्त भनाइ सार्वजनिक भएसँगै राष्ट्रपतीय चुनावी परिणाम उल्ट्याउने ट्रम्पको योजना लगभग समाप्त भएको छ ।

महान्यायाधिवक्ता बारको टिप्पणीले अमेरिकी गृह मन्त्रालय, अमेरिकी गुप्तचर निकाय तथा स्वतन्त्र चुनावी पर्यवेक्षकले यसअघि नै सार्वजनिक गरेका विवरणलाई सही ठहर्‍याएको छ । ती निकायले यसअघि नै सन् २०२० को राष्ट्रपति चुनाव अमेरिकी इतिहासमै सर्वाधिक सुरक्षित रहेको भन्दै चुनावमा धाँधली नभएको बताएका थिए ।

Advertisement

समाचार संस्था एपीसँग कुरा गर्दै महान्यायाधिवक्ता बारले भने, ‘अहिलेको मितिसम्म हामीले चुनावी परिणामलाई नै असर पार्ने किसिमले चुनावमा धाँधली भएको कुनै प्रमाण भेटेका छनौं ।’

राष्ट्रपति ट्रम्पले चुनावमा धाँधली गरेर आफूलाई हराइएको दाबी गर्दै आएका छन् । मिसिगन, पेन्सिल्भेनिया र जर्जियालगायत राज्यमा व्यापक धाँधली भएको आरोप लगाउँदै ट्रम्पले लगातार ट्वीट गर्दै आएका छन् । तर चुनावमा धाँधली भएको विषयमा उनले कुनै ठोस प्रमाण भने पेस गर्न सकेका छैनन् ।

Advertisement

राष्ट्रपति ट्रम्पले मंगलबार बिहान ट्वीट गर्दै मिसिगनको चुनावी नतिजाबारे सार्वजनिक सुनुवाइ गर्न आफू तयार रहेको जनाएका थिए । मिसिगन राज्यले भने चुनावमा डेमोक्र्याटिक पार्टी उम्मेदवार जो बाइडेन विजयी भएको भन्दै नतिजा प्रमाणीकरण गरिसकेको छ ।

राष्ट्रपति ट्रम्पका तर्फबाट दायर भएका निवेदनहरूलाई राज्यका सर्वोच्च अदालतहरूले पर्याप्त प्रमाणको अभाव भन्दै खारेज गरिदिएका छन् । औपचारिक मतगणनामा बाइडेनले ट्रम्पको भन्दा ६२ लाख बढी मत प्राप्त गरेका छन् ।

कुल ५ सय ३८ इलेक्टोरल कलेज मतमध्ये बाइडेनले ३ सय ६ र ट्रम्पले २ सय ३२ मत प्राप्त गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित हुन २ सय ७० इलेक्टोरल मत आवश्यक पर्छ । डिसेम्बर १४ मा हुने इलेक्टोरल कलेज भेलाले औपचारिक रूपमा बाइडेन राष्ट्रपतिमा निर्वाचित भएको घोषणा गर्ने जनाइएको छ ।

महान्यायाधिवक्ता बारको पछिल्लो अभिव्यक्तिप्रति भने राष्ट्रपति ट्रम्पले कुनै प्रतिक्रिया जनाइसकेका छैनन् । तर ट्रम्पका कानुनी सल्लाहकार रुडी जिलियानी र जेन्ना एलिसले संयुक्त विज्ञप्ति जारी गर्दै महान्यायाधिवक्ता बारको भनाइ खारेज गरेको जनाएका छन् ।

विज्ञप्तिमा उनीहरूले कम्तीमा ६ वटा राज्यमा भएको चुनावमा व्यापक धाँधली भएका पर्याप्त र ठोस प्रमाणहरू आफूहरूसँग रहेको दाबी गरेका छन् । चुनावी परिणामका विषयमा आफ्नो पक्षमा राय नदिएका भन्दै राष्ट्रपति ट्रम्प केही दिनदेखि महान्यायाधिवक्ता बारप्रति रुष्ट भएको जनाइएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top