२१ मंसिर, एजेन्सी ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँको जर्जिया राज्यको मतपरिणाम उल्ट्याउन दबाव दिएको अमेरिकी सञ्चार माध्यमहरुले जनाएका छन्।
रिपब्लिकनहरुको बहुमत रहेको विश्वास गरेपनि यसपटक डेमोक्रेट्स उम्मेद्वार जो बाइडेनको पक्षमा मत खसेपछि ट्रम्पले पटकपटक मतगणना गर्न लगाइसकेका छन्।
जर्जियामा तीन पटक मतगणना भइसकेको छ। जसबाट जित बाइडेनको पक्षमा भइसकेको प्रमाणित त्यहाँको प्रशासनले गरिसकेको छ। तर त्यहाँका गभर्नर ब्रेन केम्पलाई ट्रम्पले परिणाम उल्ट्याउन दबाव दिएको हफपोस्टले जनाएको छ।
ट्रम्पको प्रस्तावलाई केम्पले अस्विकार गरिसकेको जनाइएको छ। जर्जियामा १६ इलेक्ट्रोल मत रहेको छ। ट्रम्पले सामाजिक सञ्जाल ट्वीटरमार्फत पनि सामान्य हस्ताक्षर प्रमाणीकरणमात्रै गरिदिए आफूले सजिलै जित्ने बताएका छन्।
यसका लागि जर्जियाको गभर्नरले अनुमति दिनुपर्ने र यदि यसो भएमा सबैतिरको विसंगति सार्वजनिक हुने ट्रम्पको भनाई रहेको छ। ट्रम्पले गत नोभेम्बर ३ को निर्वाचनमा व्यापक धाँधली भएको आरोप लगाउँदै आएका छन्।
निर्वाचनबाट बाइडेन अमेरिकाको ४६ औं राष्ट्रपति बन्ने पक्का भइसकेको छ।
