११ पुस, एजेन्सी ।
द्वन्द्वग्रस्त इथियोपियामा आउँदो जुन महिनामा संसदीय चुनाव गर्ने तयारी गरिएको छ ।
आउँदो जुन ५ मा चुनाव गर्ने गरी मिति घोषणा गरेको इथियोपियाको निर्वाचन आयोगले जनाएको छ । सन् २०२० मै चुनाव गर्ने तालिका भए पनि कोरोना भाइरसको सङ्क्रमणको जोखिमका कारण अर्को वर्ष गर्ने तय भएको थियो ।
त्यस्तै देशका विभिन्न ठाउँमा द्वन्द्व र हिंसात्मक घटना भएका कारण पनि चुनाव पछाडि सारिएको थियो । इथियोपियामा पछिल्लो हप्ता भएका घटनामा कम्तीमा सय जनाको ज्यान गएको इथियोपियाली मानव अधिकार आयोगले जनाएको छ ।
इथियोपियामा द्वन्द्व र हिंसात्मक घटना बढेसँगै मानव अधिकार संरक्षणको अवस्था निकै कमजोर बन्दै गएको पनि आयोगले जनाएको छ ।