१६ पुस, काठमाडाैँ ।
विभिन्न घटनाहरुमा अन्याय भोगेका पिडितहरुको न्यायको निम्ति भन्दै काठमाडौँमा चित्र प्रदर्शनी गरिएको छ । शान्तिको लागि साझा अभियान(कोक्याप) नामक संस्थाले बिहीबारदेखि काठमाडौँको अनामनगरमा न्यायको पर्खाईमा रहेका प्रतिनिधिमूलक घटनाहरुको चित्र प्रदर्शनी सुरु गरेको हो ।
खासगरी गत चैत्र ११ गतेदेखि कोभिड–१९ का कारण लकडाउन शुरु भएसँगै नेपालमा भएका विभिन्न हिंसात्मक घटना, वलात्कारको घटना लगायतमा न्याय नपाएका २० ओटा घटनाको चित्र प्रदर्शनीमा राखिएको छ । न्याय नपाएका पीडितहरुलाई न्याय दिलाउनको निम्ति सम्बन्धित निकायलाई झक्झकाउने उद्देश्य सहित चित्र प्रदर्शनी गरिएको आयोजकले बताएको छ ।
चित्र प्रदर्शनी अनामनगरस्थित कार्की भवनमा पौष २६ गतेसम्म सञ्चालन हुने आयोजकले बताएको छ । प्रदर्शनी अवधिभरी विभिन्न क्षेत्रका व्यक्तित्वहरुसँग न्यायको सम्बन्धमा छलफल तथा अन्र्तक्रिया समेत हुनेछ ।