२१ पुस, जनकपुर ।
नेकपा प्रचण्ड–माधव समूहको नेकपाले प्रदेश २ का संसदीय दलको नेताबाट सत्यनारायण मण्डललाई हटाएको छ । जनकपुरमा मंगलबार बसेको संसदीय दलको बैठकले दलका नेतामा शत्रुघन महतोलाई चयन गरेको छ ।
जनकपुरस्थित प्रदेशसभा सचिवालयमा रहेका नेकपाको संसदीय दलको मंगलबार बसेको बैठकले मण्डललाई सर्वसम्मति निर्णय गर्दै दलका नेताबाट हटाइएको र महतोलाई दलका नयाँ नेता चुनिएको नेकपाका सचेतक बेंची लुङेलीले जानकारी दिइन् । ‘सभामुखलाई संसदीय दलको बैठकमा निर्णय लिखितै रुपमा जानकारी गराइएको छ,’ सचेतक लुङेलीले भनिन् ।
नेकपाको कुल ३२ सांसदमध्ये १८ जना सांसदले हस्ताक्षर गरी मण्डलबिरुद्व अविश्वासको प्रस्ताव दर्ता गराएका थिए । नेकपा दुई खेमामा विभाजित बनेपछि नेकपा (दाहाल–नेपाल) सँग बहुमत १९ जना सांसद र नेकपा (ओली) सँग १३ जना सांसद छन् । विभाजित भएसँगै नेकपाले प्रदेश २ को प्रमुख प्रतिपक्षी दलको हैसियत पनि गुमाएको छ ।