२१ पुस, लमजुङ ।
लमजुङ जिल्लामा यस वर्ष घरपालुवा मौरीको मह उत्पादनमा उल्लेख्य रुपमा वृद्धि भएको छ । जिल्लामा गत वर्षको तुलनामा यस वर्ष चार टन बढी मह उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र कार्यालय लमजुङले जनाएको छ ।
जिल्लाका किसानले ११ हजार १०० मौरीका घारबाट ३८ टन मह उत्पादन गरेको छन् । गत वर्ष नौ हजार ५०० मौरी घारबाट ३४ टन मह उत्पादन भएको थियो । आर्थिक वर्ष २०७५–६६ पाँच हजार ९०० मौरी घारबाट ३२ टन मह उत्पादन भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल प्रतिकिलो साँढे ८०० देखि ९०० रुपैयामा मह बिक्री वितरण गर्दै आइरहेको छ ।
गत वर्षको तुलनामा यस वर्ष मौसम राम्रो भएको, चरण क्षेत्र पर्याप्त भएको, आधुनिक मौरी घार र आधुनिक प्रविधिको प्रयोगले मह उत्पादन वृद्धि भएको बेँसीशहर नगरपालिका–४ पुरानोकोटका मौरीपालक किसान बेनबहादुर गुरुङले बताए।
जिल्लामा ३८२ जना मौरीपालक किसान रहेका छन् । मौरीपालनतर्फ किसानको चासो बढेको र मौरीपालन व्यवसाय गर्ने किसान बढ्न थालेकाले आगामी वर्षमा झन् वृद्धि हुने आशा गरिएको शाखाका अध्यक्ष ललित गुरुङले बताए।