२७ पुष । एकीकृत नेपाल राष्ट्रको निर्माण ऐतिहासिक तथ्य हो भने यसका निर्माता वा सूत्रधार राजा पृथ्वीनारायण शाह नै हुन् भन्ने पनि त्यत्तिकै सत्य हो । स–साना बाईसे तथा चौबिसे राज्यहरुलाई एकीकरण गरेर नेपाल निर्माणको कामलाई शुरुवात गरेका उनले नेपालको स्थापनाकालीन सिद्धान्तहरू पनि कायम गरे । नेपाल एकीकरणका नायक पृथ्वीनारायण शाहले आफ्नो अन्तिम समयमा शेरा दरबारमा दिएका दिव्योपदेशका कारणले चर्चित छन् ।
उनका उपदेशहरू आजपनि समय सान्दर्भिक रहेको धेरैको बुझाइ छ । सुव्यवस्थित ढंगले राज्य सञ्चालनका लागि उनले दिएका दिव्योपदेशको महत्व निकै छ । भावी पुस्ताले देश हाँक्दा के–के कुरामा ध्यान दिनुपर्छ भनी उनले दिएको उपदेश अहिलेको नेपाली राजनीतिका लागि पनि उत्तिकै महत्वपूर्ण देखिन्छ । इतिहासकारको मत दिव्योपदेश पृथ्वीनारायण शाहले बोल्दै गर्दा नलेखिएर त्यसको निकै पछि लेखिएको थियो । नयराज पन्तका अनुसार सुरुमा पाण्डुलिपि फेला पर्दा यसको कुनै नाम थिएन । इतिहासकार बाबुराम आचार्यले यसलाई पृथ्वीनारायण शाहको व्याख्यान नाम दिएका थिए । दिव्योपदेश भनी नामकरण गर्ने व्यक्ति योगी नरहरिनाथ हुन । नयराज पन्तले भने श्री ५ पृथ्वीनारायण शाहको उपदेश नामाकारण गरेका थिए । नेपाल समावेशी छ । उतिबैलै पृथ्वीनारायण शाहले यो मुलुक चार जात छत्तिस वर्णको साझा फूलबारी हो भनेका थिए । सुशासन र भ्रष्टाचार नियन्त्रण नभए देश विकास हुँदैन भन्ने ठानेरै उनले घुस लिने र दिने दुबै राष्ट्रका शत्रु हुन् भनेका थिए । उनले खानी भएको ठाउँमा गाउँ भएपनि गाउँलाई अन्यत्र सार्नुपर्छ र खानी चलाउनुपर्छ र उब्जनी योग्य जमिनमा भएको घर भत्काएर भएपनि त्यहाँ खेतीपाती गर्नुपर्छ, अदालतको पैसा दरवारमा नलैजानु र त्यसको सदुपयोग जोगी र सन्यासीलाई भोजन गराउनु । मुलुकमा अन्याय हुन कहिल्यै नदिनु । सुरक्षानिकाय र जनप्रतिनिधि सधैँ बफादार हुनुपर्छ । जनता मोटाउनु भनेको दरवार बलियो हुनु हो । सानो दुःखले आर्जेको मुलुक होइन, सबै मिलेर मुलुकको रक्षा गर्नुपर्छ । नेपाल दुई ढुंगाबीचको तरुल जस्तै हो, छिमेकीसँग सतर्क रहनु । काठमाडौं निकै संवेदनशील क्षेत्र हो, सिमानामा सुरक्षा व्यवस्था कडा गर्नु । सधैँ गुणको होइन, नुनको पछि लाग्नु । आफ्नो संस्कृतिको संरक्षण र जगेर्ना गर्नु अत्यावश्यक छ । राष्ट्रिय उद्योगको विकास गर, विदेशमा आफ्ना सामान निर्यात गर, जस्ता उपदेश दिएका थिए । जसमा आर्थिक, विदेश, सुरक्षा, आन्तरिक, संस्कृति नीति लगायत समावेश छन् । शाहले (भिरकोट, कास्की, लम्जुङ्ग गोरखा)मा राज्य गरिरहेको शाहवंशलाई पुरै नेपालको राजवंशमा रूपान्तरण गर्न सफल भएका थिए भने आधुनिक नेपालको जग बसाल्ने सम्पुर्ण श्रेय पनि यिनैलाई जान्छ ।
पृथ्वीनारायण शाहसँग जोडिएका केही रोचक कुराहरु पनि छन् । पृथ्वीनारायण शाहलाई बाल्यकालमै रामायण र महाभारत खुब पढाइएको थियो । उनि धनुवाण, तरबार र घोडसवारीमा निपुर्ण थिए । २० वर्षको उमेरमा गोर्खाको राजा भएका उनी पिता नरभुपाल शाहले पुण्य प्राप्त गरुन भनि काशि पुगेर गोत्र समेत परिवर्तन गरेका थिए । नेपाल एकिकरणको सपना पृथ्वीनारायण शाहको मात्र थिएन । यो सपना त उनका पिता नरभुपाल शाह थियो । बरु एकिकरण सपना देख्न पनि उनलाई पिताले नै सिकाएका थिए । एकिकरणका लागि उनलाई उत्प्रेरित भने प्रमुख ज्योतिष कुलानन्द ढकालले गरेको बताइन्छ । उनको पहिलो विवाह मकवानपुरका राजा हेमकर्ण सेनकी छोरी इन्द्रकुमारीसँग वि.सं. १७९४ मा भएको थियो । मकवानपुर त्यसबेलाको एक शक्तिशाली राज्य भएकाले त्यससँग नाता जोडेर राजनैतिक लाभ लिने उद्देश्यले विवाह भएको थियो । उनले पछी दोस्रो विवाह पनि गरे । पृथ्वी नारायण शाह अगाडी पनि उपत्यकाका राजा यक्ष मल्ल, पाल्पाका राजा मणीमकुन्द सेन तथा जुम्लाका राजा जितारी मल्लका पालामा पनि एकीकरण भएको थियो । पृथ्वीनारायण शाहले नुवाकोट जित्नका लागि तान्त्रिक विधि पनि प्रयोग गरेका रहेछन् । त्यसका लागि कुलानन्द ढकालले तान्त्रिक विधिबाट बाँसको किलो मन्त्रेर जगाइदिएछन् । त्यो किलो कालु अधिकारीले पटुकाको छेउमा बाँधी लुकाएर त्रिशूली नदीमा हेलिन थालेछन्, पानीको बेगसँग कुस्ती खेल्दै मुस्किलले त्रिशूली नदी तरेछन् र नुवाकोटमा पुगेर शत्रुका आँखा छली त्यो किलो गाडिदिएछन् । त्यसको समेत प्रभावले नुवाकोटमा गोर्खाली फौजले विजय पाएको रहेछ । पृथ्वीनारायण शाहले बनारसबाट युद्धका सामग्रीहरू किन्दा बन्दुक र बारुद पनि किनेका थिए । बन्दुक बनाउन, बन्दुक चलाउन र बन्दुकबाट युद्ध गर्न जान्ने मान्छे गोर्खाली सेनामा नभएकाले उनले ती सबै कला भएका शेख जरबार, मोहम्मद ताकी र भेषा सिंहलाई आफ्नै साथमा बनारसबाट गोर्खामा ल्याएका थिए । उनले ती तीनैलाई गोर्खाली सेनामा भर्ती गराई गोर्खाली सेनालाई बन्दुक बनाउन, बन्दुक चलाउन र बन्दुकबाट युद्ध गर्न सिकाउन लगाएका थिए । नेपाली सेनामा पहिलोपटक भर्ती भएका मुसलमान तिनै तीनजना हुन् ।त्यसपछि गोरखामा उनले हतियारको कारखाना खोले । अरु केही मुस्लिमलाई ल्याएर उनले सेनाले लगाउने लुगा सिलाउने काममा लगाएको कुरा इतिहासमा छ । गोर्खामा त्यो बेला देखि मुस्लिम बस्ती छ । पृथ्वीनारायण शाहले एकीकरण शुरू गरेपछि नेपाललाई पुनःविभाजन हुन नदिइ जोगाइ राख्ने पद्धती बसाएर गए । उनले सुरू गरेको एकिकरण अभियान बढ्दै गएर नेपाल राज्यको सिमाना पूर्वमा टिष्टा नदी, दक्षिणमा मगध र पश्चिममा सतलज नदी सम्म विस्तार भएको तर नेपालले सबै भुभाग कायम राख्न भने सकेन । ललितपुरका पाँच प्रधान (मन्त्री)हरूले पृथ्वीनारायण शाहलाई राजा बन्न आमन्त्रण दिएका थिए । पृथ्वीनारायण शाह राजा भइसकेपछि र प्रधानहरू कान्तिपुर नगई बाटैमा विदा हुन लागेका बेला उनले उनीहरूलाई त्यहीँ मारेर उनीहरूको सर्वस्व हरण समेत गरेका थिए । पृथ्वीनारायण शाहको नियत भनेको आफू सत्तामा आइसकेपछि त्यहाँकाहरूलाई सफाया गर्ने थियो, चाहे ती उनलाई सहयोगी हुन वा प्रतिरोधी । गोरखालीहरूको यस्तै हर्कतका कारण चिनियाँ सम्राट किएन लोङ (सन् १७३६–१७९६)ले आफ्ना उत्तराधिकारीहरूलाई भनेका थिए– “अति नभएसम्म गोरखाको मामलामा हस्तक्षेप नगर्नू” । भक्तपुर जितेपछी पृथ्वीनारायण शाहले हस्तलिखित १ हजार अमूल्य ग्रन्थ पनि खात लगाई जलाइदिएका थिए भनिन्छ । त्यसमा तन्त्रशास्त्र, रसायनशास्त्र, ज्योतिषशास्त्र, आयुर्वेद ग्रन्थ, शब्द विद्याशास्त्र (ध्वनिसम्बन्धि पुस्तक) आदि रहेका थिए । नेपालमा क्रिश्चियन धर्म प्रचार गर्नका लागि आएका कयापुचिनहरूले ६० वर्षसम्म नेपालमा बसेका बेला हजारौँ हस्तलिखित पुस्तक जलाएर गर्व गरेका थिए ।
मल्लकालमा हिन्दू धर्म प्रचार गर्नका लागि भारतबाट आएका शंकराचार्यले बुद्ध धर्मसम्बन्धी ७०० ग्रन्थ जलाइदिएका थिए । त्यतिबेला उपत्यकाले तिब्बतका लागि मुद्रा छापेर त्यता पठाउने र त्यस वापत ठुलो राजस्व आउने गथ्र्याे । तर पृथ्वीनारायण शाहले त्यसलाई निरन्तरता दिन सकेनन, साथसाथै व्यापारमा पनि धेरै कर बढाए । विं.सं १७७९ पुष २७ गते आजकै दिन जन्मिएका पृथ्वीनारायण शाहको मृत्युको कारण सम्बन्धमा फरक–फरक मत सुनिन्छ । वि.सं. १८३१ मा मंसिरको मध्यतिर जाडो छल्न नुवाकोट गएका पृथ्वीनारायण शाह नुवाकोट दरबारमा बिमारी परे । स्वास्थ्य झन–झन् खराब हुँदै गएपछि उनैको इच्छाअनुसार त्यहाँको देवीघाट लगियो । नौ दिनसम्म घाटमै रही माघ १ गते बिहान सात बजे उनको निधन भयो भनिन्छ भने कतै कतै सिकार खेल्न गएको बेलामा बाघको आक्रमणमा परी गहिरो चोट परी घाइते भएको हुँदा मृत्यु भएको समेत उल्लेख छ । माघे संक्रान्तिका दिन ५२ वर्षको उमेरमा उकुच र ठेउला आएर नुवाकोट जिल्लामा पर्ने त्रिशुली र तादी नदीको संगम मोहन तिर्थ वा देवीघाटमा उनको मृत्यु भएको किंवदन्ती रहेको छ ।
