जनकपुर–जयनगर रेल सञ्चालन हुँदै

काठमाडौँ : माघको अन्तिम सातादेखि जनकपुर–जयनगर रेल सञ्चालनमा आउने भएको छ । जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्मको ३५ किलोमिटरमा रेल सेवा सञ्चालन गर्न आवश्यक तयारी अन्तिम चरणमा पुगेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।
कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले जनकपुरको कुर्थादेखि भारतको जयनगरसम्म रेल्वे लिक, रेल्वे स्टेसन, सिग्नल लगायतका संरचना तयार भई भारतीय रेल्वे प्राविधिकद्वारा त्यसको परीक्षणसमेत भइसकेको जानकारी दिनुभयो । सो खण्डमा रेल सञ्चालन गर्न अब कुनै पनि प्राविधिक काम बाँकी नरहेको उहाँको भनाइ छ ।

रेल सेवा सञ्चालन गर्न आवश्यक ‘कोर’ प्राविधिक जनशक्ति आपूर्तिका लागि भारत सरकारको स्वामित्वमा रहेको कोङ्कर्ण रेल्वे कर्पाेरेसनसँग सम्झौता हुने र जनशक्ति नेपाल आइपुग्ने महाप्रबन्धक भट्टराईले बताउनुभयो । ड्राइभर, इन्जिनियर लगायत २६ जना ‘कोर’ जनशक्ति भारतबाट नेपाल आउन तयारी अवस्थामा रहेको जानकारी दिँदै उहाँले सम्झौता हुनेबित्तिकै उनीहरू नेपाल आइपुग्ने बताउनुभयो । अब छिट्टै नै सम्झौताको काम सम्पन्न हुने र माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने उहाँले बताउनुभयो । उहाँका अनुसार सम्झौताका लागि आवश्यक ‘डकुमेन्टस्’ समेत तयार भइसकेको छ ।

उहाँले भन्नुभयो, ‘‘माघ १५ गतेभित्र भारतीय जनशक्ति नेपाल आइपुग्ने छन्, उहाँहरूले एक हप्तासम्म पार्किङमा राखिएको रेल, रेल्वे लिकलगायत सम्पूर्ण रेल्वे प्रणालीको परीक्षण गर्नुका साथै यहाँका कर्मचारीलाई आवश्यक तालिम प्रदान गर्नेछन् ।’’

Advertisement

थप कर्मचारीको टुङ्गो लाग्दै
रेल सेवा सञ्चालन गर्न आन्तरिक कर्मचारीको व्यवस्थापन गर्नेबारे समेत टुङ्गो लागिसकेको महाप्रबन्धक भट्टराईले जानकारी दिनुभयो । रेल सेवा सञ्चालन गर्न ४६ जना निजामती सेवाबाट र ६० जना रेल्वेका सेवा निवृत्त कर्मचारी लिएर तत्काल सेवा सञ्चालन गरिने बताउँदै उहाँले निजामतीबाट आउने कर्मचारीलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृतिमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पत्र पठाइसकेको जानकारी दिनुभयो ।

रेल्वेको आफ्नै सुरक्षा दस्ता तयार नभएसम्म रेल्वेको सम्पूर्ण सुरक्षाको जिम्मा मन्त्रिपरिषद् बैठकले यसअघि नै सशस्त्र प्रहरी बललाई दिइसकेको छ ।,याे समाचार गाेरखापत्र दैनिकमा छापिएकाे छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top