चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

चितवन जेठ २२

चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।

शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन थालेको राष्ट्रिय प्रकृति संरक्षण कोष सौराहाका निमित्त कार्यालय प्रमुख रामकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार अहिले गैंडालाई खोर(बोमा) भित्रै पुगेर कर्मचारीहरूले खानेकुरा दिन थालेका छन् । यसअघि खोर नै भत्काउला झैं गरेर गैंडा आक्रामक रुपमा प्रस्तुत हुन्थ्यो ।

“अझै अर्काे ठूलो बोमामा राख्ने बेला भएको छैन, अर्यालले भने, “अर्काे महिनाबाट सार्न मिल्छ की भन्ने अनुमान छ ।”

तिनीहरूको अवस्था, आनीबानी, स्वास्थ्य तथा गतिविधि र आनीबानीका बारेमा पशु चिकित्सक, कर्मचारी र वन्यजन्तु प्राविधिज्ञले निगरानी गरिरहेका छन् ।

यहाँ चारैतर्फ काठको फलेकले बारेर माथिपट्टि खुला गरी बनाइएको पिट बोमा छ । अर्का खुला खोरमा लगेर छाड्न समेत भने अलि भइसकेको छैन । अलि बानी परेपछि ती गैंडालाई अली ठूलो खुला खोरमा लगेर राखिने र त्यसपछि चीन पठाइनेछ ।

भारतबाट उद्धारपछि सौराहामा ल्याएर पालनपोषण गरी राखिएको गैंडाको बच्चा(केटो)लाई पनि ‘पिट बोमा’(सानो खोर)मा राखिएको छ । अघिल्लो वर्षको साउन २८ गते आएको बाढीले निकुञ्जबाट बगाएर उक्त केटोलाई भारत पु¥याएको थियो । गत चैत १० गते भारतबाट उद्धार गरी केटोलाई सौराहा ल्याइएको थियो ।

अन्य तीनवटा गैंडालाई भने गएको वैशाख महिनामा नियन्त्रमा लिएर बोमामा राखिएको थियो । चिकित्सकका अनुसार अहिले चारवटै गैैंडा तन्दुरुस्त छ । सरकारी निर्णय अनुसार चीनलाई दुई जोडी गैंडा नेपालले उपहार दिँदैछ ।
रासस

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.