बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्ः प्रचण्ड

बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्ः प्रचण्ड

४ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले निर्वाचन आयोगले नेकपाको निर्वाचन चिह्न सूर्य ‘फ्रिज’ नगर्ने बताएका छन् । प्रेस सङ्गठन चितवनले मङ्गलवार आयोजना गरेको अन्तरक्रियामा उनले सूर्य चिह्न फ्रिज गर्न नमिल्ने बताए ।

निर्वाचन आयोगले बहुमतलाई नै मान्यता दिने जिकिर पनि उनले गरे । अहिलेको सरकारले चुनाव नगराउने दाबी गर्दै अध्यक्ष दाहालले प्रतिनिधि सभा पुनर्स्थापना हुनेमा आफूहरू पूर्ण विश्वस्त रहेको बताए । ‘बाँकी रहेको दुई वर्षे कार्यकाल सांसदहरूले गुमाउन चाहेका छैनन्’, पूर्वप्रधानमन्त्री दाहालले भने ।

अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरे प्रधानमन्त्रीमा आफ्नो दाबी नरहने बताउँदै उनले भने, ‘प्रतिपक्षीको मागलाई प्राथमिकतामा राखिन्छ ।’ पत्रकारका एक प्रश्नमा उनले छिट्टै संयुक्त आन्दोलन गर्ने विषयमा विभिन्न दलसँग कुराकानी भएको जानकारी दिए ।

भरतपुर महानगरपालिका–१० मा बन्दै गरेको सभागृहको निरीक्षणपछि उनले आफ्नो चुनाव क्षेत्रमा सोचेभन्दा बढी विकास भएको जिकिर गरे । आफ्नै चुनाव क्षेत्रको माडी अयोध्या र रामको जन्मभूमि भएको प्रमाणित गर्नका लागि पुरातात्विक अन्वेषण गर्नुपर्ने सुझाव पनि उनले दिए । (रासस)

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.