६ फागुन, काठमाडौँ ।
प्रतिनिधि सभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी(नेकपा) पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहले काठमाडौंको टुडिखेललाई मानव साङ्लोले घेरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले पुष ५ गते गरेको प्रतिनिधि सभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहको नेकपाले तीन चरणका विरोध तथा संघर्षका कार्यक्रम सम्पन्न गरिसकेको छ ।

चौथो चरणको संघर्षको कार्यक्रम अन्र्तगत बिहीबार काठमाडौंको टुडिखेललाई मानव साङ्लोले घेरेर प्रतिनिधि सभा विघटनको असंवैधानिक कदमको बिरोध गरेको हो । नेकपा प्रचण्ड–माधव समूहका स्थायी कमिटी सदस्य तथा केन्द्रीय संघर्ष समितिका सह–संयोजक योगश भट्टराईले प्रतिगमन तथा असंवैधानिक कदमका विरुद्ध टुडिखेलमा मानव साङ्लोले घेरिएको बताए ।

मानव साङ्लोमा नेकपाका नेता, कार्यकर्ताको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रतिनिधि सभाको असंवैधानिक कदम खारेज गर, भ्रष्टाचारीलाई कारबाही गर, बलात्कारीलाई कारबाही गर, प्रतिगमन मुर्दावाद लगायतका विभिन्न प्लेकार्ड तथा ब्यानरहरु प्रस्तुत गरिएका थिए भने नेता कार्यकर्ताहरुले पार्टीको झण्डा र सुर्य चिन्ह पनि बोकेका थिए ।
