ह्यारी र मेघनले भोगेको विभेदप्रति बेलायती महारानीद्वारा दुःख व्यक्त

२६ फागुन, काठमाडौँ । बेलायती महारानी एलिजावेथले आफ्ना नाती राजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केलले राजदरबारमा भोग्नुपरेको विभेदबारे दुःख व्यक्त गरेकी छन् ।

Advertisement

महारानी एलिजावेथको तर्फबाट मंगलबार विज्ञप्ति जारी गर्दै बेकिङ्हम प्यालेसले भनेको छ– ह्यारी र मेघनका लागि बितेका केही वर्ष त्यति कठिन थिए भन्ने थाहा पाएर पूरै परिवार दुःखित भएको छ। ह्यारी र मेघनले उठाएको विशेष गरी रंगभेदको कुरा ध्यान दिनै पर्ने खालको छ।

सम्झनाहरू केही फरक हुन सक्ने भए पनि यी कुरालाई गम्भीरतापूर्वक लिइएको र परिवारभित्रैबाट सम्बोधन गरिने विज्ञप्तिमा उल्लेख छ।

Advertisement

महारानी एलिजावेथले ह्यारी, मेघन र उनीहरूका छोरा आर्चीलाई सदस्यका रूपमा बेलायती राजपरिवारले सधैँ माया गरिरहने पनि उल्लेख गरेकी छन्।

अमेरिकी टेलिभिजन च्यानल सिबिएसमा सोमबार प्रसारण भएको ह्यारी र मेघनको अन्तर्वार्ताका क्रममा मेघनले ब्रिटिस राजपरिवारभित्रको रंगभेदले आफूलाई आत्महत्या गर्ने अवस्थासम्म पु¥याएको खुलासा गरेकी थिइन्।

Advertisement

आफ्नो छोराको छाला कति कालो हुन सक्छ भनेर राजपरिवारले उनलाई राजकुमारको उपाधि दिन अस्वीकार गरेको पनि उनको भनाइ थियो।

३९ वर्षीय पूर्वअमेरिकी अभिनेत्री मेघनले सन् २०१८ मा ह्यारीसँग विवाह गरेकी थिइन्। मेघनकी आमा अश्वेत हुन् भने बुवा श्वेत हुन्।

विवाहपछि बेलायती राजपरिवारमा आफूले रंगभेद महशुस गरेको र त्यसले समस्याको रूप लिन थालेपछि सहयोग माग्दा पनि कसैबाट सहयोग नपाएको मेघनले बताइन्।

’उनीहरू मेरो छोरा आर्चीलाई राजकुमार बनाउन चाहन्थेनन्,’ मेघनले अन्तर्वार्ताका क्रममा भनेकी छन्,‘उनी जन्मिँदा नै उनको छाला कति कालो हुन सक्छ भन्नेबारे छलफल भएको थियो।’

राजपरिवारमा यस्तो छलफल गर्नेहरू को थिए भन्नेबारे भने ह्यारी र मेघनले खुलाएका छैनन्।

’म बाँच्न चाहँदैनथें। मलाई जतिबेला पनि त्यस्तै सोच आइरहन्थ्यो। अहिले पनि त्यतिबेला ह्यारीले मलाई कसरी सान्तवना दिन्थे भन्ने मलाई याद छ,’ मेघनले भनेकी छन्।

ह्यारीले विवाहपछि आफ्नो परिवारलाई राजपरिवारले पैसा दिन छोडेको बताएका छन्। आफ्ना बुवा राजकुमार चार्ल्स (जो बेलायती राजगद्धीका उत्तराधिकारी पनि हुन्)ले कुरा गर्नै अस्वीकार गरेको पनि ह्यारीले बताएका छन्।

मेघनले राजकुमार विलियमकी पत्नी केइटले आफूलाई विवाहपूर्व नै रूवाएको पनि बताएकी छन्। उनी रूनुपर्ने घटना के थियो भन्नेबारे भने मेघनले खुलाइनन्। राजकुमार चार्ल्ससम्मको आलोचना गरे पनि ह्यारी र मेघनले महारानी एलिजावेथका बारेमा भने केही नराम्रो भनेका छैनन्।

ह्यारी र मेघनले सन् २०२० मा राजपदवी त्याग गर्ने निर्णय गरेका थिए। राजदरबार छोडेर उनीहरू क्यानडा हुँदै अहिले संयुक्त राज्य अमेरिका बस्दै आएका छन्।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top