कांग्रेसले सरकारमा गएर संविधानमा परेको भ्वाङ टाल्नुपर्छः गगन थापा

कांग्रेसले सरकारमा गएर संविधानमा परेको भ्वाङ टाल्नुपर्छः गगन थापा

२८ फागुन, काठमाडौँ ।
नेपाली कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेसको मुख्य ध्येय ओली सरकार हटाएर नेपाली कांग्रेसको नेतृत्वमा सरकार बनाउनु रहेको बताएका छन् । शुक्रबार नेपाल शिक्षक संघ बागमती प्रदेश कार्यसमितिको कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री कोइरालाले ओली सरकारलाई हटाएर नेपाली कांग्रेसको नेतृत्वमा नयाँ सरकार गठन गर्नु आफुहरुको मुख्य ध्येय रहेको बताएका हुन् ।

यसका निम्ति मधेसवादी दलहरुसँग छलफल चलिरहेको पनि बताए । उनले भने – ‘नेपाली कांग्रेस पर्ख र हेर अवस्थामा छ । आजपनि मधेशी पार्टीहरुसँग छलफलको क्रम चलिरहेको छ । अहिले हाम्रो मुख्य ध्येय के हो भने ओली सरकारलाई हटाएर एउटा नयाँ सरकारको गठन गर्नुपर्छ । जसको नेतृत्व नेपाली कांग्रेसले गरोस् भन्ने मनशाय हाम्रो छ ।’

कार्यक्रममा नेपाली कांग्रेसका नेता गगन थापाले सरकारको नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्नेमा जोड दिए । नेता थापाले सरकारको नेतृत्व गरेर प्रधानमन्त्री ओलीले संविधानमा पारेको भ्वाङलाई टाल्ने र देशलाई निर्वाचनमा लगेर नयाँ जनादेशबाट पाँच वर्षका लागि नेपाली कांग्रेस आउनुपर्ने बताए । उनले भने – ‘सम्भव हुन्छ, सकिन्छ भने यही पटक प्रधानमन्त्री केपी शर्मा ओलीलाई घर पठाउनुपर्ने छ र नेपाली कांग्रेसको नेतृत्वमा अहिले सकिन्छ भने अहिले हामीले सरकार बनाएर, हामिले छ, आठ महिना, एक वर्ष चलाएर जतिपनि प्रधानमन्त्री ओलीले हाम्रो संविधानमा, व्यवस्थामा भ्वाङ पार्नुभएको छ । ति भ्वाङहरु टाल्ने काम गरेर, देशलाई निर्वाचनमा लिएर गएर त्यो निर्वाचनबाट हामीले एकपटक फेरी नयाँ जनादेश प्राप्त गरेर पाँच वर्ष नेपाली कांग्रेसले जनताका बीचमा केही कुराहरुको संकल्प गरेर ती संकल्पहरु पुरा गर्ने काम हामीले गर्नुपर्छ ।’

नेपाली कांग्रेसले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको भएपनि संकटको बेलामा कांग्रेसले सम्हाल्नुपर्ने अवस्था आएको उनको भनाई छ । सर्वोच्च अदालतको फैसला नेकपाले स्वीकार गरिसकेपछि नेकपाले सरकार चलाउन पाएको म्याण्डेड सकिएको उल्लेख गर्दै नेता थापाले संसदमा सरकार चलाउने माण्डेड पाएको पार्टी नरहेको टिप्पणी गरे । नेपाली कांग्रेसले वर्तमान अवस्थालाई सम्हालेर निकाश दिनुपर्ने उनको भनाई छ । उनले भने – ‘नेपाल कम्युनिष्ट पार्टीको नाममा जुन म्याण्डेड उहाँहरुले पाउनुभयो, त्यो माण्डेड अस्तिको सर्वोच्च अदालतको फैसला र त्यो फैसलालाई उहाँहरुले स्वीकार गरिसकेपछि सकियो । त्यसैले यो संसदमा सरकार चलाउने म्याण्डेड पाएको पार्टी छैन । हामीले प्रतिपक्षमा बस्ने म्याण्डेड पाएको पाएको । तर यो क्राइसिसको बेलामा अब हामीले सम्हाल्नुपर्ने छ । हामीले सम्हालेर यसलाई निकास दिने, निकास दिएर देशलाई चुनावमा लिएर जाने र त्यो चुनावबाट नयाँ म्याण्डेड प्राप्त गर्ने ।’

प्रधानमन्त्री केपी शर्मा ओलीलाई कायमै राखे राज्यका सम्पूर्ण संयन्त्रलाई दबाब र प्रभावमा पारेर कब्जा गर्ने र प्रजातन्त्रलाई कमजोर बनाउने उनको भनाई छ । प्रधानमन्त्री ओलीलाई शासन सत्ता दिइ राख्नाले नेपालमा नाम मात्रैको चुनाव गराउने नेता थापाले बताए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.