प्रचण्ड र बादलको वियोगान्त विछोड ! (भिडियो सहित)

प्रचण्ड र बादलको वियोगान्त विछोड ! (भिडियो सहित)

२७ चैत, काठमाडौं । राजनीतिमा सबै आफ्ना हुन्छन् र सबै आफन्त आफ्ना हुँदैनन् भन्ने भनाइलाई पुष्टि गर्दै पुष्पकमल दाहाल प्रचण्डले हिजो मित्र–आजका  राजनीतिक शत्रु रामबहादुर थापा बादलमाथि छापामार शैलीमा कारबाही गरेका छन् ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफ्नै पार्टीबाट मन्त्री बनेका बादलको राष्ट्रियसभा सदस्य पद खोस्दै गैरसांसद मन्त्री बनाइदिएका छन् । प्रचण्ड र बादल तिनै व्यक्ति हुन्, जो दश वर्षे जनयुद्ध सुरु गर्दाताका मात्र होइन, चितवनमा कृषि क्याम्पस पढ्दा पनि सँगैका साथी हुन् । तर अहिले उनिहरु बिचको सम्बन्ध यस्तो खराब अवस्थामा पुगेको छ कि जनयुद्धलाई नेतृत्वदायी भूमिका दिएका बादलमाथि जनयुद्धका सर्वोच्च कमाण्डर प्रचण्डले सांसद पद नै खोसिदिएका छन् ।  र यो सबै फोहोरी राजनीतिका कारण सम्भव भएको  छ ।  हुन त, बादलले पनि माओवादी केन्द्र छाडेर एमालेको बागमती प्रदेश इन्चार्ज सम्हालिरहेका थिए । पुष ५ अघि देखि नै प्रचण्डको साथ छाडेर ओली तिर ढल्किएका बादलले संसद विघटनपछि पनि ओलीलाई नै साथ दिएका थिए । संकटको त्यो घडीमा साथ पाएका ओलीले बादललाई नेकपा एमाले ब्यूँतिएपछि बागमती प्रदेश इन्चार्जको जिम्मेवारी दिएका थिए । पार्टीमा फर्कन आग्रह गरेपनि ओली कै साथमा रहने भन्दै स्पष्टिकरण समेत नबुझाएका बादलसहित मन्त्री रहेका अन्य सांसदलाई समेत माओवादी केन्द्रले कारबाही गरेको थियो । तर प्रचण्ड र बादलको सम्बन्ध भने कुनै समय नङ र मासुको जस्तै भएपनि उनिहरुको सम्बन्धमा फाटो आएको छ । यसअघि २०६९ सालमा मोहन वैद्य किरणका कारण फाटो आएपनि बादल प्रचण्डसँग ४ वर्षपछि नजिकिएका थिए । तर त्यसपछि प्रचण्ड र बादलको आत्मियता अरु ४ वर्ष पनि राम्रोसँग टिक्न सकेन । २०७३ मा प्रचण्ड नेतृत्वमा फर्किएका बादल २०७५ मा बाम एकता भएपछि देखि ओलीसँग नजिकिन थाले ।

०७७ पुष सम्ममा त प्रचण्ड र बादल एकले अर्कालाई शत्रुको रुपमा व्यवहार गर्न थालिसकेका थिए । कुनै बेला बादलले प्रचण्डलाई चिडियाघरमा लगेर थुन्ने चेतावनी दिने त कहिले प्रचण्डले आफुमाथि बम हान्नेलाई बादललाई नजिक्याएकोमा गुनासो गर्ने श्रृंखला चल्दा एकसमयका जनयुद्धका सहयोद्धाहरु भन्न पनि लजाउने अवस्था आएको छ । हुन त, प्रचण्ड निकट नेताहरु जहिल्यै पनि निर्णायक समयमा बादलले धोका दिने गरेको बताउने गर्छन् । र बादलले भने प्रचण्डले आफूमाथि विश्वास नगर्ने र अघि बढ्न नदिने गुनासो पाल्ने गर्दछन् । जनयुद्ध र त्यसयता पनि प्रचण्ड र बादलको सम्बन्ध निकै उतारचढावपूर्ण रह्यो । तर पनि, जनयुद्ध लडेका बादलले माओवादी केन्द्र छाडेर एमाले प्रवेश गर्नु र आफ्नै सहयोद्धा बादलमाथि कारबाही गर्नुले राजनीतिको तितो यथार्थलाई प्रष्ट्याइदिएको छ ।

यद्यपी, राजनीति संभावनाको खेल भएकोले ०६९ सालमा प्रचण्ड नेतृत्व छाड्दै यहि प्रकारले प्रचण्डको आलोचनामा उत्रिएका बादल ४ वर्षपछि फेरि प्रचण्ड नेतृत्व कै पार्टीमा फर्किएको घटनाले प्रचण्ड र बादलको बिछोडको आयुबारे भने शंका नै छ ।

 

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.