विद्यालय बन्द गर्ने वा आंशिक खोल्ने भन्ने निर्णय डीसीसीएमसीले गर्ने

विद्यालय बन्द गर्ने वा आंशिक खोल्ने भन्ने निर्णय डीसीसीएमसीले गर्ने

३ वैशाख, काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरस अति प्रभावित भनी किटान भएका १४ जिल्लाका विद्यालय जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र ( डीसीसीएमसी) को समन्वयमा बन्द वा आंशिक रुपमा खोल्न पाउने निर्णय गरेको छ ।

शुक्रबार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा मन्त्री कृष्णगोपाल श्रेष्ठसहितको बैठकले विद्यालय बन्द गर्ने वा खोल्ने निर्णय गर्ने अधिकार प्रमुख जिल्ला अधिकारी नेतृत्वको डीसीसीएमसीलाई दिएको एक अधिकारीले जानकारी दिए ।

बैठकमा सबै प्रकारका शैक्षिक संस्थाहरुले अनिवार्य स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गराउनुपर्ने, विद्यालयभित्र सभा, सम्मेलन, वार्षिक उत्सव गर्न नपाइने मापदण्ड तोकेको शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठका प्रेस संयोजक ईश्वर ढकालले जानकारी दिए ।

त्यस्तै जोखिमका कारण बन्द भएका विद्यालयहरुले ‘सिकाइ सहजीकरण निर्देशिका, २०७७’ अनुसार विद्यार्थीलाई सिकाइसँग जोड्नुपर्ने पनि बैठकले निर्णय गरेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बिहीबार काठमाडौं, ललितपुर, कास्की, रुपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बाग्लुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको थियो ।

मन्त्रालयले ती जिल्लामा विद्यालयमा छोराछोरी नपठाउन अभिभावकलाई अपील गरेको छ । त्यस्तै रात्री व्यवसाय, ७ बजेपछि सबै रेष्टुरेन्ट तथा क्लबहरु, खेलकुद, जीम, सार्वजनिक पूजाआजा तथा जात्राहरु, सभा सम्मेलन, बैठक तथा भेलाहरु, सिनेमा हल, सपिङ मल, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, स्वीमिङ पुल आदि स्थानमा सहभागी नहुन पनि स्वास्थ्य मन्त्रालयले अपील गरेको थियो ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.