१७ जेठ, काठमाडौं ।
लुम्बिनी प्रदेशको राष्ट्रियसभा उपनिर्वाचनमा विजयी भएका विपक्षी गठबन्धनका दृगनारायण पाण्डेयले यो जित लोकतन्त्रको भएको बताएका छन् ।
जितपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले ओझेलमा रहेका संघीयता, गणतन्त्रलगायतका मुद्दाहरु उठाउने बताए । ‘अहिले संघीयता, गणतन्त्र लगायतका जुन मुद्दाहरु ओझेलमा रहेका छन्, ती सबै मुद्दाहरूलाई हामी सबैको प्रयासबाट राष्ट्रियसभामा उठाउँछौँ’,पाण्डेयले भने ।
उनले यसअघि आफूलाई मत दिने मतदातालाई धन्यवाद दिँदै यो सबै मतदाताको जित भएको बताए । पाण्डेयले भने, ‘यो प्रजातन्त्रको जित हो । लोकतन्त्रको जित हो । सबै मतदाताको जित हो, नेपाली काँग्रेस, माओवादी केन्द्र, जसपा, जनमोर्चा, स्वतन्त्र लगायत सबै मतदातामा धन्यवाद दिन चाहन्छु ।’
सोमबार सम्पन्न चुनावमा पाण्डेयले एमालेका चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विजयी भएका हुन् ।