बी एन्ड सीलाई सम्बन्धन नदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई केसीको खुला पत्र

बी एन्ड सीलाई सम्बन्धन नदिन आग्रह गर्दै प्रधानमन्त्रीलाई  केसीको खुला पत्र

२८ जेष्ठ, विराटनगर ।
झापाको बी एन्ड सी मेडिकल कलेजलाई सम्बन्धन नदिन डाक्टर गोविन्द केसीले प्रधानमन्त्री केपी शर्मा ओलीसंग आग्रह गरेका छन् ।

शुक्रबार एक खुला पत्र लेख्दै उनले यस्तो आग्रह गरेका हुन् । पत्रमा केसीले बी एन्ड सी मेडिकल कलेजलाई चोर बाटोबाट सम्बन्धन प्रदान गर्ने नियतले चिकित्सा शिक्षा आयोगको आकस्मिक बैठक डाकेको पत्रमा उल्लेख गरेका छन् ।

उनले पत्रमा लेखेका छन्, नेपाली नागरिकहरुले यहाँलाई मत प्रदान गरी देशको कार्यकारी बनाइ तलब, भत्ता, महँगो स्वास्थ्योपचारको खर्चको लागि कर तिरिरहेका छन्।

तर स्वास्थ्य माफियाहरुको चंगुलमा परेर संविधान, लोकतन्त्र, तथा विधिको शासन बर्खिलाप हुने गरी यहाँले आम नागरिकहरुको हितमा कार्य गर्नुको सट्टा अहित हुने कार्यमा निरन्तर लागिरहनुभयो।

खासमा यहाँले कोभिडको दोस्रो लहरको महामारीमा सम्पूर्ण राज्य संयन्त्र लगाएर आम-नेपालीहरुको जीवन रक्षार्थ तथा चिकित्सा शिक्षा ऐनको प्रावधान अनुरुप प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज तथा अस्पताल निर्माण गर्न लाग्नुपर्ने थियो।

उनले अगाडि लेखेका छन्, आयोगको अध्यक्षको हैसियतले बी एन्ड सी मेडिकल कलेजका सञ्‍चालकलाई हाम्रा साथीहरु तथा आयोगका पदाधिकारीहरुलाई बारम्बार ज्यानको धम्की दिएबापत कारबाही गर्नुपर्ने थियो।

तर यहाँले आफ्नो पदको दुरुपयोग गरी तिनै संचालकलाई पुरस्कृत गर्न उचित ठान्नुभयो। यस्तो लुटतान्त्रिक कार्य सभ्य समाजमा कदापि स्वीकार्य हुनेछैन।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.