लमजुङको दोर्दी खोलाले १५ घर बगायो, आयोजनामा पनि क्षति

२ असार, लमजुङ ।
लमजुङको दोर्दी गाउँपालिकाको दोर्दी खोलामा आएको बाढीले हिलेबजारका १५ घर बगाएको छ । जलविद्युत

Advertisement

बाढीले बजारका ४ वटा बिजुलीको हाइटेन्सन खम्बा पनि ढालेको छ । जसका कारण विद्युत र फोन सम्पर्क पनि अवरुद्ध भएको वडाध्यक्ष तुलबहादुर घलेले जानकारी दिए ।

‘हाइटेन्सन पोल ढालेको छ । अरु पोल कति ढले-ढले नकुरा गरम्,’ उनले भने, ‘हाम्रो वडा लथालिङ्ग भयो । पानी परेको पर्‍यै छ । रमिता हेर्नुबाहेक उपाय छैन ।’ बाढीका कारण स्थानीय आमा समूहको घर, फुटबल मैदानलगायत सबै बगाएको वडाध्यक्ष घलेले बताए ।

Advertisement

‘अरु ३, ४ वटा घर पनि पक्की घरका पनि पिलर निकाल्न सुरु गरिसकेको छ । क्षति त कति पुग्यो, पुग्यो,’ उनले भने । बाढीले दोर्दी खोलामाथि बनेको झोलुङ्गे पुलमा पनि क्षति पुर्‍याएकाले आवतजावत नै बन्द भएको उनले जानकारी दिए ।

हाइटेन्सन लाइन ढलेर पुलमा क्षति पुर्‍याएको उनले बताए । ‘बजार खोलाभन्दा धेरै माथि थियो, कसरी बढ्यो थाहै भएन,’ उनले भने । बाढी पीडितलाई बजार माथिको स्कुल तथा आफन्तको घरमा स्थानान्तरण गरिएको वडाध्यक्ष घलेले जानकारी दिए ।

Advertisement

उनले भने, ‘पुल पनि धरापमा छ । सबै मान्छेहरु एउटै ठाउँमा कोचाकोच भएर बस्नु भाछ । बिजोग भयो हामी ।’ राहत तथा उद्दारका लागि जिल्ला प्रशासनलाई खबर गरिसकेको तर, गाउँ छिर्ने बाटो सबै पहिरोले क्षति भएकाले कठिनाइ भएको वडाध्यक्ष घलेले बताए ।

‘सबै बाटो पहिरोले खायो। हामी त सम्पर्कविहीन हुने अवस्था आइसक्यो,’ उनले भने, ‘सदरमुकामबाट बाटो आउन सक्ने स्थिति छैन । गाडीहरु पनि आउन सक्दैनन् ।’

दोर्दी गाउँपालिका–८ मा भर्ने हिलेबजारका स्थानीय क्षितिज लामाका अनुसार मंगलबार साँझ ६ बजेदेखि बजारमा खोला पसेको थियो ।

रातभरि खोलाले बजारका घरहरू बगाउन थालेको र अहिले पनि जारी रहेको उनले बताए । ‘कोही त मेला गएका थिए, साँझ घर आउँदा बगाइसकेको थियो’, लामाले भने, ‘राति घर बगाउँदा मान्छे भागेर ज्यान जोगाए, सामान निकाल्न पाएनन्।’

दोर्दीखोलामा आएको बाढीले निर्माण सकिनै लागेका जलविद्युत आयोजनामा पनि क्षति पुर्‍याएको छ। लिवर्टी हाइड्रो पावर र हिमालय हाइड्रो पावरले बनाइरहेका आयोजनामा क्षति पुगेको सिडिओ होमप्रसाद लुइँटेलले बताए।

उनका अनुसार दोर्दीका जलविद्युत आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोड्न बनाइएका टावर र बिजुलीका अन्य पोलसमेत बाढीले ढलाएको छ।

यस्तै मर्स्याङ्दी नदीमा आएको बाढीले भुलभुलेमा लेकबेसी पानी सिंचाइ कार्यालय, लेकबेसी पानी उद्योग र एउटा रेष्टुरेन्ट बगाएको छ। मर्स्याङ्दी नदीले कटान गर्दा उपल्लो लमजुङको रामबजारस्थित खेलमैदान पनि बगाएको सिडिओ लुइँटेलले बताए।

बाढी र पहिरोका कारण लमजुङको जगतमा २ वटा बुङ्गुर फार्म र एउटा कुखुरा फार्म पनि बगाइदिएको छ। मनाङ जाने सडकको लमजुङ खण्ड च्याम्चेमा पहिरोले अवरूद्ध भएको सिडिओ लुइँटेलले जानकारी दिए।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top