३ साउन, रसुवा ।
रसुवाको नौकुण्ड गाउँपालिका–४, पाटीखर्कमा लिफ्टिङ सिँचाइ योजना निर्माण गरिने भएको छ । त्यस क्षेत्रमा अहिले तीनवटा सिँचाइ योजना सञ्चालनमा रहे पनि प्रभावकारी नभएका कारण नयाँ सिँचाइ योजना निर्माण गर्न लागिएको हो ।
तीनवटा सिँचाइको मुहान एउटै भएका कारण हिउँदमा सिँचाइ गर्न समस्या हुँदै आएको छ । एकीकृत ऊर्जा सिँचाइ विशेष कार्यक्रम अन्तर्गत सिँचाइ योजना निर्माण हुन लागेको जलश्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय रसुवाले जनाएको छ । चालु आर्थिक वर्ष २०७८÷७९ का लागि ७ करोड बजेट समेत विनियोजन भइसकेको छ ।
यो योजना एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यो योजना निर्माण भएपछि झण्डै ६० हेक्टर क्षेत्रमा सिँचाइ सुविधा पुग्ने जनाइएको छ । सिँचाइको अभावमा किसानले एक बाली मात्र लगाउँदै आएका छन् ।
अन्नबाली तथा नगदेबाली लगाउनका लागि यहाँ खेतीयोग्य जमिन धेरै छ । तर सिँचाइको अभावमा किसानले उत्पादनमा वृद्धि गर्न सकेका छैनन् । सिँचाइ योजना निर्माण भएपछि एक वर्षमा तीन बालीसम्म लगाउन सकिने र तरकारी उत्पादन बढ्ने अपेक्षा गरिएको छ ।